समाचार

गोवा नाइट क्लब दुर्घटना: ज्यान गुमाएका पाँच नेपालीको पहिचान पुष्टि

२५ मङ्सिर, काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएका पाँच नेपालीको पहिचान खुलेको छ। शनिबार राति भएको दुर्घटनामा पाँच नेपालीसहित २५ जनाको मृत्यु भएको गोवा प्रहरीले जनाएको छ।

मृतक नेपालीहरूमा दाङका चुर्णबहादुर पुन, सिन्धुलीका लिलबहादुर कटुवाल, झापाका सविन र सुदीप विश्वकर्मा तथा डडेलधुराका मनोज जोरा छन्। उनीहरूको शव नेपाल ल्याउने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नाइट क्लबमा मध्यराति लागेको आगो ग्यास सिलिन्डर विष्फोटपछि तीव्र बनेको थियो। साँघुरा बाटो र कमजोर सुरक्षा व्यवस्थाका कारण मानवीय क्षति बढेको गोवा प्रहरीले बताएको छ। क्लब सुरक्षा मापदण्डविपरीत र अवैध रूपमा सञ्चालन भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

घटनापछि क्लबका महाप्रबन्धकसहित चार जना पक्राउ परेका छन् र मालिकविरुद्ध मुद्दा दर्ता गरिएको छ। गोवाका मुख्यमन्त्रीले मृतक परिवारलाई पाँच लाख र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन्।