२५ मंसिर, काठमाडौं । कञ्चनपुरस्थित मोहना–डोकेबजार–बेलौरी–बेलडाँगी–दैजी सडक खण्ड निर्माणको ठेक्का रद्द गरिएको छ। हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत धनगढीस्थित योजना कार्यालयले बाबा हन्स–सिद्धीसाई जेभीसँगको सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको हो।
आर्थिक वर्ष २०७३/७४ मा सम्झौता भए पनि २० किलोमिटरमध्ये ५ किलोमिटर मात्र कालोपत्रे गर्न बाँकी थियो। करीब ८२ प्रतिशत प्रगति भए पनि पटक–पटक ताकेता पछि पनि काम नबढेपछि ठेक्का तोडिएको कार्यालयले जनाएको छ।
सम्झौता उल्लंघन, काममा तदारुकता नदेखिनु र पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो नहुँदा ठेक्का रद्द गरिएको हो। व्यवसायीको कार्य सम्पादन जमानत जफत गरिने, बाँकी रकम सरकारी बाँकीसरह असुल गरिने र कालोसूचीमा राख्न सिफारिस गरिएको कार्यालयले जनाएको छ।
अद्यावधिक नापजाँच तथा वित्तीय फरफारकका लागि १५ दिनभित्र कार्यालयमा उपस्थित हुन निर्माण व्यवसायीलाई आग्रह गरिएको छ।





