२३ पुस, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । बिहीबार बिहान २ हजार २ सय २७ जना महाधिवेशन प्रतिनिधिले मतदान गरेका छन् भने ३६ जना अनुपस्थित रहे ।
अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल तथा महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा भएको छ । अन्य पदाधिकारीमा पनि दुवै पक्षका प्यानलबीच प्रतिस्पर्धा छ ।
हाल ८० वटा विद्युतीय मेसिनबाट चिप्स निकाल्ने प्रक्रिया चलिरहेको छ । चिप्स निकालिसकेपछि मतगणना सुरु गरिने एमालेले जनाएको छ । प्रत्येक मेसिनको छुट्टाछुट्टै मुचुल्का तयार गरी सिल गरेपछि सर्वपक्षीय बैठकपछि मात्र नतिजा सार्वजनिक गरिनेछ ।
एमाले नेता ठाकुरप्रसाद गैरेले मतदान प्रक्रिया दुई दिन लागेको र प्रविधिको प्रयोगमा केही चुनौती देखिएको बताए । चिसो मौसमका बाबजुद मतदान नरोकी समयमै सम्पन्न गरिएको उनले बताए ।





