बशन्ती धामी (बस्सु धामी) । मेरो देश नेपाल हिमालको काखमा बसेको सुन्दर देश, जहाँ विविध जातजाति, भाषा, धर्म र संस्कृतिको संगम पाइन्छ। जहाँ एकै आँगनमा अनेकन संस्कृतिका फूलहरू फुल्छन्, तर ती फूलहरू सधैँ सुवासित रहन सकेनन्। किनभने यही बगैंचामा पटक–पटक काँडाहरू उम्रिए आन्तरिक कलह, विद्रोह र असन्तोषका चिच्याइरहेका स्वरहरू। यी विद्रोहहरू केवल असन्तुष्टि थिएनन् ती परिवर्तनका चिच्याइरहेका आवाज थिए।
कहिले न्यायको लागि, कहिले पहिचानको लागि, कहिले अधिकारको लागि। नेपालको एकीकरणले भौगोलिक सीमाहरू जोड्यो, तर विविध जाति, भाषा, संस्कृति र समुदायको मनोवैज्ञानिक दूरी घटाउन समय लाग्यो र त्यो समय अझै बाँकी छ।
नेपालमा विद्रोहको सुरुवात नेपाली एकीकरण पश्चात १८औँ शताब्दीको अन्त्यतिर भयो। गोर्खाली सेनाले लिम्बुवान क्षेत्रलाई अधीनमा ल्याएपछि लिम्बुवान समुदायले आफ्नो परम्परागत संस्कृतिको रक्षा गर्न विद्रोह गरे। यो विद्रोह पृथ्वीनारायण शाह विरुद्धको पहिलो जनआवाज थियो। इलाम, पाँचथर, ताप्लेजुङमा चर्किएको त्यो विद्रोह केवल भूगोलको प्रतिरोध थिएन, त्यो त आत्मसम्मानको रक्षाका लागि उठेको चेतनाको हुंकार थियो। शासकहरू जनताको सामु झुक्न बाध्य भए। गोर्खाली शासकहरूले परम्परागत भाषा र संस्कृतिलाई मान्यता दिएर युद्ध शान्त गराए। तर त्यो शान्ति अस्थायी थियो। देशको भित्री भागमा असन्तुष्टि अझै बल्झिरहेको थियो र त्यो असन्तुष्टि गुठबन्दी, षड्यन्त्र र चातुर्यको उपज बन्यो।
वि.सं. १९०३ मा कोत पर्व भयो जहाँ सत्ताको लागि रगत बग्यो। प्रधानमन्त्री फत्ते जंग शाहको हत्या भयो, जङ्गबहादुर उदाए, र सुरु भयो १०४ वर्ष लामो जहानीय राणा शासन। त्यो शासन केवल सत्ता कब्जा थिएन, त्यो त जनताको चेतनालाई कैद गर्ने यन्त्र थियो। जनताको आवाज दबाइयो, शिक्षाको ढोका बन्द गरियो, र देशलाई अँध्यारो सुरुङमा धकेलियो। चेतनाको पुनर्जागरण भयो तर चेतना कहिल्यै मर्दैन। वि.सं. १९९७ तिर बाग्लुङका किसानहरूले भूमि कर र श्रम शोषणविरुद्ध आवाज उठाए। त्यो आवाज पनि बल प्रयोग गरेर दबाइयो, तर ग्रामीण जनताको असन्तुष्टि उजागर भयो।
भारत स्वतन्त्र भइसकेको थियो, र त्यसको प्रभाव नेपालमा पनि फैलिन थाल्यो। जनतामा राजनीतिक चेतना पलाउन थाल्यो। प्रजापरिषद् जन्मियो राणाशासनविरुद्ध जनचेतनाको बीज रोपियो। २००३ मा भारतमा निर्वासित नेपाली नेताहरूले नेपाली कांग्रेस गठन गरे। २००७ साल कार्तिक २१ गते बागलुङ, पाल्पा, इलाम, ताप्लेजुङ, धनकुटा लगायतका स्थानहरूबाट सशस्त्र विद्रोह सुरु भयो। राजा त्रिभुवन भारतको शरणमा गए। भारतले आन्दोलनलाई समर्थन गर्यो।
राणाहरूको दबाव बढ्यो। अन्ततः दिल्ली त्रिपक्षीय सम्झौता भयो। २००७ फागुन ७ गते राजा त्रिभुवन स्वदेश फर्किए। राणा शासनको अन्त्य भयो। प्रजातन्त्रको ढोका खुल्यो तर त्यो ढोका फेरि बन्द भयो। २०१५ सालमा राजा महेन्द्रले निर्वाचित सरकार विघटन गरे। पञ्चायती व्यवस्था लागू भयो। दलहरू प्रतिबन्धित भए। सारा शक्ति राजामा केन्द्रित भयो। गाउँ पञ्चायत, नगर पञ्चायत, जिल्ला पञ्चायत, राष्ट्रिय पञ्चायत चार तहको संरचना बनाइयो, तर जनताको आवाज फेरि थुनियो।
पञ्चायत कालमा नागरिक स्वतन्त्रता सीमित रह्यो। प्रेसमाथि नियन्त्रण, आलोचकहरूलाई जेल, नजरबन्द, दमन। जनजाति, मधेसी, दलित, महिलासबैको आवाज दबाइयो। प्रतिनिधित्व शून्य बनाइयो। भ्रष्टाचार, दण्डहीनता, मनपरी बढ्यो। जनतामा असन्तोष बढ्दै गयो। २०३७ सालमा जनमत संग्रह भयो। पञ्चायत पक्षधरले ५५% ल्याए, बहुदल पक्षधरले ४५%। तर जनमानसमा यो नतिजा धाँधलीको फल हो भन्ने विश्वास रह्यो। असन्तोष अझै बढ्दै गयो। र यही असन्तोषले २०४६ फागुन ७ गते जनआन्दोलनको आगो सल्कायो। देशभर सडक प्रदर्शन, हड्ताल, जुलुस, नाकाबन्दी। बाममोर्चाका नेताहरू अग्रपंक्तिमा थिए। राज्यद्वारा दमन, गोलीकाण्ड, कर्फ्यु। देश ठप्प भयो।
अन्ततः २०४६ चैत्र २६ गते राजा वीरेन्द्रले बहुदल स्वीकार गर्न बाध्य भए। संविधान संशोधन भयो। नागरिक स्वतन्त्रता फर्कियो। राजालाई संविधान भन्दा माथि नरहने बनाइयो। लोकतान्त्रिक संस्थाहरूको जन्म भयो। तर फेरि पनि जनताको पीडा मेटिएन। २०५२ फागुनमा माओवादीहरूले ४० बुँदे मागसहित जनयुद्धको घोषणा गरे।
भारतसँग भएका असमान सन्धिको पुनरावलोकन, दलित, महिला, किसान, जनजातिको अधिकार, भ्रष्टाचार नियन्त्रण, स्थानीय स्वायत्तता यी मागहरू राज्यले सम्बोधन गरेन। र त्यसैले रोल्पा, रुकुम, गोर्खा, सिन्धुली, काभ्रेबाट जनयुद्ध सुरु भयो। १० वर्षसम्म देश रगताम्य भयो।
१७ हजारभन्दा बढीको मृत्यु, हजारौं घाइते, हजारौं बेपत्ता। पुल, सडक, संरचना नष्ट। पर्यटन, उद्योग, व्यापारमा गम्भीर असर। बालबालिकालाई युद्धमा सहभागी गराइएको आरोप। अपहरण, जबरजस्ती भर्ती, मानव अधिकार उल्लंघन। गाउँमा एक–अर्काविरुद्ध युद्ध। मानसिक आघात। त्रसित नागरिक भएकै बेला भित्र भित्र बाट दोस्रो जनआन्दोलन र गणतन्त्रको उदय भयो २०६२/६३ को जनआन्दोलन चर्कियो जसमा सात दलको गठबन्धन थियो र भूमिगत माओवादीले पनि १२ बुँदे सहमति जनायो।
आन्दोलनको मुख्य माग रहयो राजतन्त्रको अन्त्य, पूर्ण लोकतन्त्र। सर्वसाधारण, विद्यार्थी, कर्मचारी, महिला, मजदुर—सबै सडकमा आएर समर्थन जनाए। आन्दोलनले राजतन्त्रलाई कमजोर बनायो। संसद पुनर्स्थापना भयो। शान्ति सम्झौता भयो। माओवादी जनयुद्धको औपचारिक अन्त्य भयो। अन्तरिम संविधान जारी भयो।
अन्तरिम सरकार गठन भए लगत्तै राजा ज्ञानेन्द्र अधिकारविहीन भए। २०६४ मा संविधानसभा चुनाव भयो। माओवादी सबैभन्दा ठूलो दल बन्यो। २०६५ जेठ १५ नेपालमा राजतन्त्र समाप्त भयो र संघीय लोकतान्त्रिक गणतन्त्रको जन्म भयो। तर आशा फेरि असन्तोषमा फेरियो आशा थियो अब देशले स्थायित्व पाउँछ, सबैको आवाज सुन्ने संविधान बन्छ। तर त्यो आशा चाँडै असन्तोषमा फेरियो। मधेस आन्दोलनले संघीयता र पहिचानको माग उठायो।
२०७२ सालमा थारू समुदायले थरुहट प्रदेशको माग गर्दै आन्दोलन चर्काए। टिकापुरमा हिंसात्मक झडप भयो, ज्यान गयो, र थारू पहिचानको मुद्दा राष्ट्रिय बहसको केन्द्र बन्यो। उता सिके राउतले स्वतन्त्र मधेसको माग गर्दै अभियान चलाए, जुन पछि सरकारसँगको सम्झौतापछि लोकतान्त्रिक राजनीतिमा रूपान्तरण भयो।
त्यसैबीच आदिवासी जनजाति, दलित, महिला, मधेसी समुदायले प्रतिनिधित्व, अधिकार र सम्मानको माग गर्दै आन्दोलन गरे। संविधानमा समावेशिता लेखिए पनि व्यवहारमा विभेद कायमै रहेको भन्ने उनीहरूको गुनासो थियो यसै बीच अकल्पनीय अविश्वसनी र आवश्यकता बोकेको विद्रोह जन्म भयो।
जेन्जी विद्रोह: डिजिटल युगको हुंकार इतिहासले देखाएको छ—विद्रोहको स्वर पुस्ता अनुसार बदलिन्छ, तर कारण उस्तै रहन्छन्: अन्याय, असमानता, र अवसरको अभाव। आजको पुस्ता—जेनेरेसन जेड, जसले मोबाइलको स्क्रिनबाट संसार हेर्छ, तर देशको यथार्थ देख्दा आँखा रसाउँछ उनीहरू न राजा खोजिरहेका छन्, न राणा; उनीहरू खोजिरहेका छन् उत्तरदायी व्यवस्था। यो विद्रोह बन्दुकबाट होइन, बुद्धिबाट सुरु भयो।
२०८२ सालमा सरकारले सामाजिक सञ्जालमा नियन्त्रण लगाउने निर्णय गरेपछि, साइबर स्पेसमै क्रान्तिको बीउ रोपियो फेसबुक, ट्विटर, टिकटक, इन्स्टाग्राम सबै प्लेटफर्महरूमा एउटै आवाज गुन्जियो: हामी चुप लाग्दैनौँ!। भ्रष्टाचार, बेरोजगारी, अवसरको अभाव, अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार, अनि पुरानो पुस्ताको असंवेदनशील नेतृत्वप्रति आक्रोश यी सबैले जेन्जीलाई सडकमा ल्यायो।
उनीहरूका हातमा झण्डा मात्र थिएन, मोबाइल पनि थियो; नारामा केवल गुनासो थिएन, तथ्य थियो; र आँखामा केवल क्रोध थिएन, परिवर्तनको सपना थियो। विद्यालय र विश्वविद्यालयहरू आन्दोलनका केन्द्र बने, जहाँ विद्यार्थीहरूले पढाइ छोडेर प्रश्न सोध्न थाले—किन हाम्रो भविष्य यति अन्धकारमय? किन हामीलाई सुन्ने कोही छैन? किन हामीले रोजगारीको लागि विदेश जानु पर्ने? राजधानीका सडकहरू फेरि एकपटक जनसागरले भरिए, तर यो सागरमा पुराना नेताहरू थिएनन् थिए त केवल युवाहरू, जसले न कुनै पार्टीको झण्डा बोकेका थिए, न कुनै नेताको भाषण दोहोर्याएका। उनीहरूको आन्दोलन स्वतःस्फूर्त थियो, नेतृत्वविहीन जस्तो देखिए पनि चेतनायुक्त थियो।
सत्ताले फेरि पुरानै शैली अपनायो दमन, गिरफ्तारी, धम्की। तर जेन्जी डराएन। उनीहरूले भनिदिए “हामीलाई जेलमा हाल्न सकिन्छ, तर हाम्रो विचारलाई होइन।” यही विचारले देशभरका युवालाई जोड्यो। गाउँदेखि सहरसम्म, स्कुलदेखि स्टार्टअपसम्म, सबैले एउटै कुरा भने अब हामी चुप लाग्दैनौँ।
सरकार घुँडा टेक्न बाध्य भयो जब आन्दोलनले साइबर स्पेसदेखि सडकसम्म कब्जा गर्यो, जब अन्तर्राष्ट्रिय मिडियाले नेपालका युवाको आवाजलाई मुखपृष्ठमा राख्न थाल्यो, जब देशको अर्थतन्त्र प्रभावित हुन थाल्यो, तब सरकार झस्कियो। जेन्जीले चेतावनी दिइसकेका छन् यो अन्त्य होइन, यो सुरुवात हो। अबको पुस्ता सजग छ, सशक्त छ, र सधैँ तयार छ सत्ताको लडाइ मा होइन, उत्तरदायित्व खोज्न यो सानो बगैचाको मालीक हैन माली खोजन तर सम्झना रहोस् यो अन्त्य होइन, चेतावनी हो मेरो देशको इतिहास विद्रोहको इतिहास हो तर हरेक विद्रोहको अन्त्य संवादले भएको छ।
परिवर्तन बिद्रोहले होइन, बर्ताले सम्भव हुन्छ। देश बनाउने हो भने हामीले एक अर्कालाई सुन्न सिक्नुपर्छ। असन्तोषको जरा उखेल्न संवादको पानी नै चाहिन्छ, बन्दुकको बारुद होइन के पायो देशले ? विद्रोहले नेपालमा धेरै परिवर्तन ल्याए राजतन्त्रको अन्त्य गणतन्त्रको स्थापना संघीयता समावेशी संविधान तर यिनै परिवर्तनहरू कार्यान्वयनमा ढिलाई राजनीतिक अस्थिरता र जनताको अपेक्षा अनुसारको परिणाम नआउनुले जनतामाझ निराशा बढाएको छ।
आन्तरिक कलहले देशलाई कमजोर बनाउँछ तर चेतनशील बनाउँछ। अबको आवश्यकता हो संवाद समावेशिता र स्थायित्व को परिवर्तनको माग विद्रोहबाट होइन संस्थागत सुधार र जनउत्तरदायी नेतृत्वबाट हुनुपर्दछ ।





