समाचार

जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँः संरक्षक चौधरी

८ पुस, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले जेनजी आन्दोलनको मर्मअनुसार आगामी फागुन २१ को निर्वाचनमा सबै सहभागी हुनुपर्ने बताएका थिए ।

उक्त पार्टीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले जेनजी आन्दोलन नेपाली जनताको आवाज भएको र आन्दोलनका मागहरूलाई न्यायोचित रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

संरक्षक चौधरीले भने,“हामीले यो देशमा चाहेको परिवर्तन, सुशासन र समृद्धि हो । जेनजी आन्दोलनले पनि तिनै माग र मुद्दा अगाडि सारेका छन् । निर्वाचनको माध्यमबाट ती मुद्दा सम्बोधन गर्न सबै लागौँ ।”

उनले आफ्नो पार्टीले थारु समुदाय मात्र नभई समग्र उत्पीडित समुदायका मुद्दा उठाइरहेको उल्लेख गरे ।

पत्रकार सम्मेलनमा पार्टीसँग ‘जेनजी टु जिरोे’ बीच छबुँदे सम्झौता भएको जानकारी दिइएको थियो । उक्त जेनजी समूहले नागरिक उन्मुक्ति पार्टी नेपाललाई साझा पार्टीका रुपमा अंगाल्न तयार भएको संरक्षक चौधरीले जानकारी गराएका थिए ।