१५ पुस, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति, स्थिरता र दिगो लोकतन्त्र कायम राख्न सबै पक्षलाई निर्वाचन प्रक्रिया सहयोग गर्न आग्रह गरेकी छन्।
आज बिहान बालुवाटारमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंसँग भेट गर्दै प्रधानमन्त्री कार्कीले अब मुलुकले अस्थिरता र अशान्ति सहन नसक्ने भएकाले आफ्ना माग र असन्तुष्टिहरु शान्तिपूर्ण माध्यमबाट राख्नुपर्ने बताइन्।
प्रधानमन्त्री कार्कीले भनिन्, “मुलुक निर्वाचनमा होमिइसकेको छ। जनताबाट आफ्ना मुद्दा अनुमोदन गराउनु नै लोकतान्त्रिक निकासको एक मात्र विकल्प हो। धेरै अप्ठ्यारो अवस्थाबाट मुलुकलाई शान्ति र सुव्यवस्थामा फर्काएका छौँ। यस्तो बेलामा सबै पक्ष जिम्मेवार भूमिकामा आउनुपर्छ।”
शान्ति कायम राख्न आग्रह गर्दै उनले प्रसाईँलाई भगवान् गौतम बुद्धको चित्र उपहार दिइन्। साथै, उनले भ्रष्टाचारको अन्त्य र शोषित-पीडित वर्गलाई न्याय दिलाउने प्रक्रियामा सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारिन्।
प्रधानमन्त्री कार्कीले थप भनिन्, “सबै कुराको नतिजा रातारात देखिन्न, तर हामी आधारशिला तयार गर्दैछौँ। तपाईंले उठाएका केही जायज मुद्दाको सम्बोधनका लागि सरकार गृहकार्य गरिरहेको छ र थप छलफल जारी रहनेछ।”
प्रधानमन्त्री कार्कीले प्रसाईँलाई शान्ति कायम राख्न आग्रह गर्दै शान्तिको प्रतीक भगवान् गौतम बुद्धको चित्र उपहार पनि दिइन् ।




