१५ पुस, काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही मानिसहरूले सामाजिक सञ्जालमा ‘देशै कब्जा गरिसक्यौं’ भन्ने जस्तो हल्ला फैलाएको टिप्पणी गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार रुकुमबाट १५ दिन पैदल यात्रा गरी काठमाडौं आएका विद्यार्थी नेता केशव रावललाई धन्यवाद व्यक्त गर्दै प्रचण्डले विचारविहीन, इतिहासविहीन, त्याग–तपस्या र बलिदान नगरेकाहरूले यस्तो हल्ला फैलाएको बताए।
उनले भने, “दशकौं लडाईं, आन्दोलन, त्याग–तपस्याका कीर्तिमान कायम गरेकाहरूलाई अहिले बदनाम गर्न खोजिँदैछ। सहरबजारका केही मान्छे त्यस्तै हल्लामा रमाइरहेका छन्।”
प्रचण्डले सामाजिक सञ्जालमा होहल्ला गर्नेहरू आफूहरूका मुक्तिदाता हुन् भनेजस्तो चर्चा गर्दै लामो इतिहास भएका पार्टीहरू सिद्ध भइसके भन्ने हल्लामा जनताले विश्वास नगरेको बताए।
साथै, प्रचण्डले अहिलेको सूचना र प्रविधि (आईटी) र एआईको युगमा सचेत रहनुपर्ने भन्दै, “मोबाइल र समाचार पोष्ट गर्ने माध्यम हामीले चलाएको जस्तो लाग्छ, तर यसको प्रभुत्व प्रतिक्रियावादी र वैदेशिक शक्तिहरूको हातमा छ,” बताए।





