१७ पुस, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.८३ अंकले घटेर २६२०.९२ बिन्दुमा बन्द भएको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा ०.४८ प्रतिशतको गिरावट हो ।
बिहीबार ‘अन्य’ उपसूचक बाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा बढी व्यापार उपसूचक १.०९ प्रतिशतले घट्दा सो समूहका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
कारोबारका क्रममा ३ सय ३६ धितोपत्रको ६४ हजार ४०७ कारोबारबाट १ करोड १ लाख ५३ हजार २ सय २६ कित्ता सेयर किनबेच भएको छ । कुल कारोबार रकम ४ अर्ब ७१ करोड ३९ लाख रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो दिन बुधबारको तुलनामा कम हो । बुधबार दोहोरो अंकले बढेको बजार बिहीबार घटेको हो ।
आज विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेर प्रतिकित्ता १४८१.१० रुपैयाँ पुगेको छ । त्यसैगरी एसवाई प्यानल नेपाल लिमिटेड, हिम स्टार ऊर्जा कम्पनी, बुङ्गल हाइड्रो लिमिटेड र कालिका पावर कम्पनीका सेयर मूल्यमा पनि उल्लेख्य वृद्धि देखिएको छ ।
घट्ने पक्षमा भने ग्लोबल आईएमई समुन्नत योजना–२ का लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत गुमाएका छन् । बोटलर्स नेपाल, सयपत्री हाइड्रो र लक्ष्मी लघुवित्त वित्तीय संस्थालगायतका धितोपत्रको मूल्य पनि उल्लेख्य रूपमा घटेको छ । कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल लिमिटेड बिहीबार सर्वाधिक कारोबार हुने धितोपत्र बनेको छ ।





