२४ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र बढ्दै गएको विवाद अन्त्य गर्न सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।
आज बिहान देउवा निवास महाराजगञ्ज पुगेर कोइरालाले कांग्रेसभित्र देखिएको आन्तरिक खिचातानीले पार्टी विभाजनको जोखिम बढेको उल्लेख गर्दै त्यसको निकासका लागि सभापतिले अग्रसरता लिनुपर्ने बताएका हुन्।
पार्टी स्रोतका अनुसार भेटमा कोइरालाले नेतृत्व र पदको प्रतिस्पर्धाभन्दा पार्टी एकतालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए। उनले पार्टी एकताका लागि सभापति देउवाले थप लचकता देखाउनुपर्ने सुझावसमेत राखेका छन्।
कोइरालाले कांग्रेसलाई एकताबद्ध राख्न समयमै पहल नगरे अवस्था थप जटिल बन्न सक्ने चेतावनी दिँदै संवाद र सहमतिमार्फत समस्याको समाधान खोज्नुपर्ने धारणा व्यक्त गरेका थिए।





