राजनीति

कांग्रेस विशेष पक्षलाई आयोगको स्पष्ट जवाफ : आन्तरिक विवादमा हस्तक्षेप हुँदैन

२४ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले तत्काल विशेष महाधिवेशन गराउन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई निर्देशन दिन माग गर्दै निर्वाचन आयोगमा पत्र बुझाएका छन्।

पार्टी विधानको धारा १७(२) अनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको समर्थनमा विशेष महाधिवेशनको माग भएको उल्लेख गर्दै आयोगमार्फत पार्टी नेतृत्वलाई निर्देशन दिनुपर्ने अनुरोध गरिएको हो। निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आयोगमा पत्र प्राप्त भएको पुष्टि गरेका छन्।

भण्डारीका अनुसार विशेष महाधिवेशन पक्षधरले पुस १६ मै आयोगलाई पत्र पठाएका हुन्। तर आयोगले कुनै पनि राजनीतिक दलको आन्तरिक विवादमा हस्तक्षेप नगर्ने स्पष्ट पारेको छ। उनले पार्टीभित्रको विवाद आयोगको कार्यक्षेत्रमा नपर्ने भन्दै यसमा प्रवेश नगर्ने बताए।

कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर पक्ष–विपक्षबीच विवाद चर्किँदै गएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहितका नेताहरू विशेष महाधिवेशनको पक्षमा उभिएका छन् भने संस्थापन पक्षले भने नियमित महाधिवेशन नै उपयुक्त हुने र विशेष गर्दा पार्टीलाई क्षति पुग्ने दाबी गर्दै आएको छ।

संस्थापन समूहले फागुन २१ को निर्वाचनअघि महाधिवेशन गर्दा पार्टी कमजोर हुने तर्क गरिरहेको छ। तर गगन–विश्व समूह भने चुनावअघि नै नयाँ नेतृत्व चयन गरेर जानु पार्टीका लागि लाभदायक हुने धारणा राख्दै आएको छ।

विवादकै बीच विशेष महाधिवेशन पक्षधरले पुस २७ गते महाधिवेशन गर्ने तालिकासमेत सार्वजनिक गरिसकेका छन्। उनीहरूका अनुसार विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ।