२५ पुस, काठमाडौं । काठमाडौं उपत्यकामा सवारी दुर्घटना अत्यधिक हुने स्थानहरूको पहिचान गर्दै दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले लक्षित योजना अघि सारेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले पछिल्ला वर्षहरूको दुर्घटना तथ्यांक विश्लेषण गरी २९ स्थानलाई ‘ब्ल्याक स्पट’का रूपमा सूचीकृत गरेको हो । ती स्थानहरूमा प्राथमिकताका साथ सुधारात्मक तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने ट्राफिक प्रहरीको भनाइ छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीका अनुसार कोटेश्वर, सातदोबाटो, भक्तपुर, जावलाखेल, काँडाघारी, कलंकी, महाराजगञ्ज, नयाँ बसपार्क, बल्खु, गौशाला, स्वयम्भू, सानेपा, सिंहदरबार, गट्ठाघर र बौद्ध क्षेत्रका विभिन्न सडकखण्डमा दुर्घटना दर उच्च देखिएको छ ।
ट्राफिकको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्रै कोटेश्वर–बालकुमारी, जडिबुटी, गौरीगाउँ, मनिभैरव बानेश्वर, ग्वार्को–सातदोबाटो, सल्लाघारी–जगाती, एकान्तकुना–नख्खु, कलंकी, नारायणगोपाल चोक आसपास, गट्ठाघर–लोकन्थली तथा बौद्ध गेट क्षेत्रमा उल्लेख्य संख्यामा दुर्घटना भएका छन् ।
रामशाहपथका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीका अनुसार चालु आर्थिक वर्षको प्रारम्भिक विश्लेषणले पनि यी स्थानहरू दुर्घटनाका दृष्टिले संवेदनशील रहेको देखाएको छ । त्यसैले चिन्हित ‘ब्ल्याक स्पट’हरूमा सडक संरचना, ट्राफिक व्यवस्थापन र चालकको व्यवहारसम्बन्धी कमजोरी अध्ययन गरी सुधार गरिनेछ ।
दुर्घटना न्यूनीकरणलाई केन्द्रमा राख्दै ट्राफिक प्रहरीले आजदेखि ‘ट्राफिक सप्ताह–२०८२’ पनि सुरु गरेको छ, जसको समापन २ माघमा हुनेछ । ट्राफिक सप्ताहअन्तर्गत रात्रिकालीन सवारीमा जनचेतनामूलक वृत्तचित्र प्रदर्शन, राइड सेयर एप चालकहरूका लागि विशेष कार्यक्रम, तथा सार्वजनिक सवारीमा जीपीएस र सीसी क्यामेरा जडानका लागि समन्वय गरिने बताइएको छ ।
ट्राफिक प्रहरीले चिन्हित ‘ब्ल्याक स्पट’ क्षेत्रमा सवारी चलाउँदा विशेष सतर्कता अपनाउन चालकहरूलाई आग्रह गरेको छ ।





