विचार/ब्लग

म विपी कोइरालालाई राजनीतिक भगवान मान्ने मान्छे हुँ

दिपक खड्का / हिजो र आज मलाई अत्यन्तै धेरै फोन, सन्देश र भेटमार्फत पार्टीको विषयमा आफ्ना धारणा राख्नुभएको छ। देश–विदेशबाट अब पार्टीको भविष्य के हुन्छ भन्ने जिज्ञासा र चिन्ता देखिनु स्वाभाविक नै हो।

आफ्नो निजी विचार र धारणा तर्कसहित राख्नु लोकतन्त्रको सुन्दर पक्ष हो। तर तर्कको सट्टामा गाली–गलौज र हिंसात्मक भाषा प्रयोग हुनु लोकतन्त्रविरोधी प्रवृत्ति हो। म कसैलाई होच्याउने, गाली गर्ने, अरूलाई सिँढी बनाएर माथि उक्लिने प्रयास कहिल्यै गरेको छैन र गर्ने पनि छैन।

म एक self-made व्यक्ति हुँ। मेरो विगत धेरैलाई कम थाहा हुन सक्छ। तर म जहाँ, जससँग र जुनसुकै अवस्थामा प्रस्तुत भए पनि-शारीरिक रूपमा होस् वा अभिव्यक्तिमा-मबाट कहिल्यै हिंसात्मक टिप्पणी वा गाली–गलौज भएको छैन। म नेपाल हुँदा अमेरिका छ भनेर गलत प्रचार गर्दा होस, कुनै कर्मचारीको विषय जोडेर होस् वा रास्ट्र राजनीति आउनु अघि मेरो दुई दशकअघि बनेको घर जलेको घटनादेखि लिएर कुनै सभा, अन्तर्वार्ता वा व्यक्तिगत भेटघाटसम्म-कुनै पनि अवस्थामा मैले कसैप्रति हिंसात्मक भाषा प्रयोग गरेको छैन बरु मैले स्पष्ट रूपमा भनेको छु जेन–जि आन्दोलन भाद्र २३ गते दिउँसो १ बजेसम्म माग सहि छन र ति आन्दोलनका मागहरू सम्बोधन र पुरा गरिनुपर्छ ।

कांग्रेसलाई एकताबद्ध राख्ने हाम्रो इमानदार प्रयास सफल हुन सकेन। व्यक्तिगत रूपमा मैले अत्यन्तै इमानदार प्रयास गरेको थिएँ। के- के भयो र के हुन दिइएन, कसले कस्तो प्रयास गर्‍यो र कुन–कुन शक्ति कसरी प्रयोग भए, यी सबै प्रश्नहरूको उत्तर इतिहासले दिनेछ। इतिहासले जित–हार होइन, पार्टी फुटको संघारमा पुग्दा एकताको विकल्प रोजियो कि रोजिएन भन्ने प्रश्नको समीक्षा गर्नेछ। म एक कुरामा दृढ छु-म भिडको राजनीति र दोहोरो चरित्रको राजनीति गर्दिन। मेरो मूल्यांकन पनि इतिहासले नै गर्नेछ।

म विपी कोइरालालाई राजनीतिक भगवान मान्ने मान्छे हुँ। गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई (किसुनजी), गणेशमान सिंह को प्रेरणाबाट राजनीतिमा होमिएको हुँ र सुशील कोइरालाको कार्यकालमा वि.सं. २०७० को संविधानसभा निर्वाचनबाट निर्वाचित भई राष्ट्रिय राजनीतिमा आएको हुँ। म विपीको विचार, सिद्धान्त र एकताको राजनीतिबाट एक कदम पनि पछि हटेको छैन र हट्नेछैन।

हिजो विशेष महाधिवेशनका लागि पनि “केन्द्रीय कार्यसमितिले निर्णय गरोस्, हामी तयार छौं” भनेर स्पष्ट रूपमा भनिएको हो। भित्र र बाहिर फरक–फरक कुरा बोल्ने प्रवृत्ति बढ्दै जाँदा, निष्ठा र इमानदारिताको राजनीति कमजोर हुँदै गएको देख्दा दुःख लाग्छ। केही सीमित भिड र सामाजिक सञ्जालको मतभन्दा फरक धारणा राखेकै कारण व्यक्तिहरूमाथि भइरहेका अस्वाभाविक र नियोजित नकारात्मक टिप्पणीहरूले मलाई दुःखी र आश्चर्यचकित बनाएका छन्।

इतिहासका ठूला–ठूला घटनाहरू हतियारबाट होइन, नेतृत्वको बोली र शैलीबाट जन्मेको छ र जन्मिन्छन्। जब शब्दहरूले तर्क र विचार छोडेर आगो ओकल्न थाल्छन्, तब घटनाहरूको सुरुवात हुन्छन र भएका छन । आज संवाद कमजोर हुँदै गएको छ भने सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रमहरूमा हिंसात्मक टिप्पणी बढ्दै गएको देख्दा म चिन्तित छु। यसले लोकतन्त्रलाई कमजोर बनाउँदै लगेको छ। निर्वाचन हाम्रो सामु छ। एकजुट हुनुपर्ने बेला हामी विभाजनको शिकार भएका छौं। यसले लाखौं कार्यकर्ता र जनताको विश्वासमा केही न केही ठेस पुगेको हुन सक्छ।

अब हामी सामु आसन्न निर्वाचनमा जाने र आठ दशक लामो नेपाली कांग्रेसको इतिहास, गौरव तथा जनता र देशप्रतिको जिम्मेवारी जोगाउने दायित्व छ, जुन केवल एकता र सहकार्यबाट मात्र सम्भव छ।

पार्टीभित्र र अन्य धेरै क्षेत्रमा सुधार आवश्यक छन्। ती सुधार आज–भोलि एकैचोटि हुँदैनन्; प्रक्रिया मार्फत नै हुन्छन्। ती प्रक्रिया रोकिने छैनन्। सञ्जाल र भिडको राजनीतिभन्दा पनि आज विपीको विचार, सिद्धान्त र एकताको राजनीति नै समयको आवश्यकता हो।

सबै साथीहरूलाई विचलित नहुन आग्रह गर्दछु। छिट्टै यो कष्टको घडीबाट हामी माथि उठ्नेछौं।

धन्यवाद ।
जय नेपाल।।

(नोटः लेखक खड्का नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् पुर्व मन्त्री हुन् ।)