२ माघ, काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गगन थापा पक्ष निर्वाचन आयोग पुग्नु लोकतन्त्रमाथिको गम्भीर षडयन्त्रको संकेत भएको बताएका छन् ।
शुक्रबार पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यसहित दलबलका साथ निर्वाचन आयोग पुगेका खड्काले आयोगका पदाधिकारीसँगको भेटमा विशेष महाधिवेशन पक्षको दाबी संविधान र लोकतन्त्रविरुद्ध रहेको टिप्पणी गरे ।
उनले सञ्चारमाध्यमबाट गगन थापा नेतृत्वको समूहले पार्टीको आधिकारिकता दाबी गर्दै आयोग पुगेको जानकारी पाएको उल्लेख गर्दै त्यसलाई देशको राजनीतिक व्यवस्था नै कमजोर बनाउने प्रयासका रूपमा अर्थ्याए ।
“नेपालको संविधान, लोकतन्त्र र हामीले गरेको राजनीतिक परिवर्तनमाथि गम्भीर षडयन्त्रका संकेत देखिन थालेका छन्,” उनले भने, “निर्वाचन आयोगमा आएर केही व्यक्तिहरूले ‘हामी नै कांग्रेस हौं’ भनेर दाबी गर्नु त्यही षडयन्त्रको ठूलो संकेत हो ।”
कार्यवाहक सभापति खड्काले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति नै नेपाली कांग्रेसको एकमात्र वैध र आधिकारिक नेतृत्व भएको दाबी गरे । विशेष महाधिवेशनबाट गठन भएको भनिएको नयाँ कार्यसमिति वैधानिक नरहेको उनको भनाइ छ ।
भेटका क्रममा खड्काले आधिकारिकता सम्बन्धी आफ्नो पक्षका कागजातहरू कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई बुझाएका छन् ।
देउवा पक्षले विशेष महाधिवेशनलाई पार्टी विधानविपरीत र अवैधानिक भन्दै आयोगलाई यसअघि नै लिखित जानकारी गराइसकेको छ । आयोगले दुवै पक्षका दाबी र प्रमाण अध्ययन गरिरहेको जनाएको छ ।





