राजनीति

टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै योगेश भट्टराईले दर्ता गराए ‘नोट अफ डिसेन्ट’

४ माघ, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रतिनिधिसभा प्रत्यक्षतर्फको उम्मेदवार छनोट प्रक्रियाप्रति असहमति जनाउँदै पार्टी कार्यालयमा औपचारिक ‘नोट अफ डिसेन्ट’ दर्ता गराएका छन्।

शनिबार बसेको सचिवालय बैठकले देशभरका १४० निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएपछि भट्टराईले असन्तुष्टि सार्वजनिक गर्दै लिखित असहमति राख्ने बताएका थिए। सोहीअनुसार आइतबार उनले पार्टी मुख्यालय पुगेर चार बुँदे असहमति पत्र दर्ता गराएका हुन्।

पार्टी स्रोतका अनुसार उनले टिकट वितरणमा स्पष्ट मापदण्ड नअपनाइएको, प्रतिस्पर्धाका क्रममा पक्षधरता देखिएको र कतिपय कार्यकर्तामाथि अन्याय भएको भन्दै असन्तुष्टि जनाएका छन्। साथै बाह्य राजनीतिक चुनौतीलाई पर्याप्त ध्यान नदिइएको पनि उनको तर्क रहेको बताइएको छ।

यसैबीच, भट्टराईले निरन्तर चुनाव लड्दै आएको ताप्लेजुङ क्षेत्रमा समेत एमालेले अहिलेसम्म उम्मेदवारको टुंगो लगाएको छैन। त्यसबारे निर्णय सार्वजनिक भएपछि उनले सामाजिक सञ्जालमार्फत आफ्ना समर्थकलाई विचलित नहुन आग्रह गरेका थिए।

उनले अझै उच्च मनोबलका साथ पार्टीका उम्मेदवार जिताउन सक्रिय हुन आह्वान गर्दै आफ्नो राजनीतिक यात्रा लामो र गौरवपूर्ण रहेको उल्लेख गरेका छन्।