समाचार

प्रचण्ड आज रुकुमपूर्व प्रस्थान, भोलि तामझामका साथ मनोनयन दर्ता गर्ने तयारी

५ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक प्रचण्ड आज साँझ रुकुमपूर्व जाने भएका छन् । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न उनी आजै रुकुमपूर्व जान लागेका हुन् ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार मंगलबार प्रतिनिधि सभा सदस्यको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ । नेकपा रुकुमपूर्वले प्रचण्डको स्वागत तथा मनोनयन कार्यक्रमका लागि आवश्यक तयारी पूरा भएको जनाएको छ ।

नेकपा रुकुमपूर्वका इन्चार्ज तेजबहादुर वलीका अनुसार प्रचण्ड सोमबार रुकुमपूर्व पुग्ने र मंगलबार भव्य रूपमा उम्मेदवारी दर्ता गर्ने योजना तय भइसकेको छ ।

प्रचण्ड मंगलबार मनोनयन दर्ता गरेपछि बुधबार मात्रै काठमाडौं फर्कने कार्यक्रम रहेको वलीले बताए । यस क्रममा उनले जिल्लाका नेता तथा कार्यकर्तासँग राजनीतिक छलफल र परामर्श गर्नेछन् ।

यसअघि २०७९ को निर्वाचनमा गोरखा–२ बाट निर्वाचित भएका प्रचण्ड यसपटक सुरक्षित निर्वाचन क्षेत्र खोज्दै जनयुद्धको आधारभूमि मानिने रुकुमपूर्व पुगेका हुन् ।