स्वास्थ्य

स्वास्थ्य समस्या देखिएपछि माधवकुमार नेपाल अस्पताल भर्ना

१५ माघ, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्। रुघा, खोकी र ज्वरोको समस्या देखिएपछि उनी बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका थिए।

त्यहाँ प्रारम्भिक परीक्षणपछि उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो। उपचार भने त्रिवि शिक्षण अस्पतालकै छातीरोग विशेषज्ञ चिकित्सकको टोलीले गरिरहेको अस्पताल स्रोतले जनाएको छ।

अस्पतालका अनुसार नेता नेपाललाई रुघा, खोकी र ज्वरोसँगै सास फेर्न गाह्रो हुने (घ्यार–घ्यार) समस्या देखिएको छ। त्रिवि शिक्षण अस्पतालमा क्याबिन उपलब्ध नभएपछि मनमोहन अस्पतालमा राखेर उपचार थालिएको जनाइएको छ।

बिहीबार बिहान नेता नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित अन्य नेताहरू अस्पताल पुगेका थिए।

यसैबीच, त्रिवि शिक्षण अस्पतालको भीआईपी क्याबिन नम्बर ६०१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पनि उपचाररत रहेका छन्।