राजनीति

स्थानीय निर्वाचनअघि पार्टी महाधिवेशन टुंग्याउँछौं : गगन थापा

१७ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचन अघि नै पार्टीको १५औँ महाधिवेशन सम्पन्न हुने स्पष्ट पारेका छन्। काठमाडौं–४ मा शनिबार आयोजित चुनाव केन्द्रित कार्यक्रममा बोल्दै उनले अब कांग्रेसमा उम्मेदवार छनोट प्राइमरी इलेक्सन मार्फत वडास्तरबाटै हुने बताए।

सभापति थापाका अनुसार नयाँ स्थानीय र प्रदेश निर्वाचनभन्दा पहिल्यै महाधिवेशन हुनेछ र त्यसपछि उम्मेदवारको टिकट वडाका पार्टी सदस्यहरूले प्राइमरीबाट चयन गर्ने व्यवस्था लागू हुनेछ। यसले टिकटका लागि पार्टी नेतृत्वको घर धाउनुपर्ने पुरानो अभ्यास अन्त्य हुने उनको भनाइ छ।

उनले कांग्रेसभित्र गुटबन्दी र ६०–४० को भागबण्डा समाप्त भइसकेको दाबी गर्दै पार्टीभित्र र बाहिर समान व्यवहारको नीति अपनाइने बताए। नागरिक र पार्टी सदस्यलाई बलियो बनाउने अभियान सुरु भइसकेको उल्लेख गर्दै थापाले पार्टी नेतृत्वसँग अपारदर्शी र अप्राकृतिक सम्बन्धको अभ्यास अब नहुनेमा जोड दिए।