१९ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशमा आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिने भएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीले सुरक्षा चुनौतीको मूल्याङ्कन गर्दै सात हजारभन्दा बढी प्रहरी परिचालन गर्ने तयारी गरेको जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टका अनुसार २१ फागुनमा हुने निर्वाचनका लागि कुल सात हजार ५८ जना नेपाल प्रहरी परिचालन गरिनेछ । प्रहरीसँगै १३ हजार ६६९ जना निर्वाचन प्रहरी पनि सहयोगी भूमिकामा खटाइनेछ भने सशस्त्र प्रहरीतर्फ एक हजार ५१९ जना परिचालन हुनेछन् ।
प्रदेशभर निर्वाचन सुरक्षालाई ध्यानमा राखी मतदान स्थल र मतदान केन्द्रको संवेदनशीलताका आधारमा वर्गीकरण गरिएको छ । सुदूरपश्चिममा कुल एक हजार १७६ मतदान स्थल र दुई हजार १९९ मतदान केन्द्र रहेका छन् । तीमध्ये ३०० मतदान स्थल सामान्य, ३९५ संवेदनशील र ४८१ अतिसंवेदनशील सूचीमा छन् । मतदान केन्द्रतर्फ ४५६ सामान्य, ७५७ संवेदनशील र ९८६ अतिसंवेदनशील रहेका छन् ।
सुरक्षा मापदण्डअनुसार सामान्य मतदान केन्द्रमा पाँच, संवेदनशीलमा छ र अतिसंवेदनशील केन्द्रमा १० जना प्रहरी खटाइनेछ । मतदान स्थलको भित्री सुरक्षामा खटाइएका प्रहरीबाहेक बाहिरी सुरक्षाका लागि थप जनशक्ति परिचालन गरिने एसएसपी विष्टले जानकारी दिए ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार सुदूरपश्चिममा कुल १७ लाख १६ हजार ६७५ मतदाता रहेका छन् । तीमध्ये आठ लाख ६४ हजार ४२३ महिला र आठ लाख ५२ हजार २१९ पुरुष मतदाता छन् ।
यस निर्वाचनमा प्रदेशभर २४ राजनीतिक दल सहभागी रहेका छन् । विगतका निर्वाचनमा भएका घटनालाई आधार मानी बाजुरा, बझाङ, अछाम र दार्चुला जिल्लालाई अतिसंवेदनशील सूचीमा राखी विशेष सुरक्षा व्यवस्था मिलाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यसैबीच, प्रदेशको निर्वाचन केन्द्रित सुरक्षा अवस्थाको समग्र विश्लेषण गर्न प्रहरी प्रधान कार्यालयले एआईजी हिमालय श्रेष्ठको नेतृत्वमा विशेष टोली धनगढी पठाएको छ । उक्त टोलीले जनशक्ति परिचालन, सुरक्षा चुनौती र आवश्यक रणनीतिबारे अध्ययन गर्ने जनाइएको छ ।





