१९ माघ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सुनिश्चित गर्न नेपाल प्रहरीको भूमिका निर्णायक हुने बताएकी छन् ।
सोमबार काठमाडौंमा आयोजित नेपाल प्रहरी निरीक्षकहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनमा कुनै पनि राजनीतिक प्रभाव, दबाब वा पूर्वाग्रहबाट मुक्त भएर जिम्मेवारी निर्वाह गर्न सुरक्षा निकायलाई निर्देशन दिइन् ।
आगामी फागुन २१ गते हुने निर्वाचनलाई लोकतान्त्रिक यात्राको महत्वपूर्ण कोसेढुङ्गाका रूपमा उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले निष्पक्ष सुरक्षा व्यवस्थापनले मात्र जनताको विश्वास कायम रहने बताइन् । निर्वाचनको सम्पूर्ण प्रक्रियामा कानूनको शासन र व्यावसायिक आचरणलाई सर्वोपरि राख्नुपर्नेमा उनले जोड दिइन् ।
नेपाल प्रहरीको विगतदेखि वर्तमानसम्मको कार्यसम्पादनले प्रहरी र समुदायबीचको सम्बन्ध मजबुत रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले सुरक्षाकर्मीहरूको निष्पक्षता नै लोकतन्त्रको संरक्षणको आधार भएको बताइन् । साथै उनले शान्ति सुरक्षा कायम गर्दै निष्पक्ष निर्वाचन सम्पन्न गराउन प्रहरीको भूमिका अझ जिम्मेवार र संवेदनशील हुने बताइन् ।





