प्रवास

बेलायतमा नेपाली विद्यार्थीको दुःखद निधन

लन्डन । अध्ययनका लागि बेलायत पुगेका एक नेपाली विद्यार्थीको उपचारका क्रममा निधन भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी–१० घर भएका २२ वर्षीय विवेकानन्द मण्डलको सन्डरल्याण्ड रोयल अस्पतालमा सोमबार मृत्यु भएको एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीले जानकारी दिएका छन् ।

कम्प्युटर साइन्समा अण्डरग्रयाजुएट अध्ययन गर्न मण्डल सन् २०२३ को सेप्टेम्बरमा बेलायत आएका थिए । उनी केही महिनादेखि फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित थिए । आइतबार श्वास फेर्न गाह्रो भएपछि उनले छिमेकी दिदी गरिमा मल्ललाई फोनमार्फत आफ्नो अवस्था सुनाएका थिए । मल्लको सुझावमा उनी तत्काल सन्डरल्याण्ड रोयल अस्पताल पुगेका थिए, जहाँ उनलाई आईसीयूमा राखेर उपचार सुरु गरिएको थियो । तर उपचारकै क्रममा सोमबार चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

एनआरएनए यूके अध्यक्ष पुडासैनीका अनुसार परिवारको आग्रहअनुसार मण्डलको शव नेपाल पठाउने प्रक्रिया सुरु गरिनेछ । अध्ययन पूरा हुनुअघि नै नेपाल फर्किने तयारीमा रहेका मण्डल सन्डरल्याण्ड युनिभर्सिटीको बाँकी तीन हजार पाउण्ड शुल्क नतिरेको कारण निष्कासित भएका थिए । उनको भिसा अवधि भने १४ फेब्रुअरी २०२६ सम्म कायम थियो । विश्वविद्यालयबाट निष्कासन भएपछि नयाँ आवेदन नदिए विद्यार्थीलाई ६० दिनसम्म बेलायत बस्न पाउने व्यवस्था रहेको छ ।

घटनापछि प्रतिक्रिया दिँदै पुडासैनीले बेलायतमा रहेका नेपाली विद्यार्थीलाई आफ्नो स्वास्थ्यप्रति गम्भीर हुन आग्रह गरेका छन् । सानोतिनो समस्या हुँदा पनि अस्पताल जान हिच्किचाउने र जीपीमा नाम दर्ता नगर्ने प्रवृत्तिले स्वास्थ्य जटिल बन्ने उनले बताए । साथै, आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अण्डरग्रयाजुएट अध्ययनका लागि बेलायत नआउन समेत उनले सुझाव दिए ।

उनले बेलायतको जीवन बाहिर देखिएजस्तो सहज नभएको उल्लेख गर्दै नयाँ परिवेश, रोजगारीको अभाव, उच्च शैक्षिक खर्च र बढ्दो मानसिक दबाबका कारण धेरै विद्यार्थी समस्या झेल्न बाध्य भएको बताए । पछिल्लो समय यिनै कारणले केही विद्यार्थी मानसिक तनावमा पर्ने र आत्महत्या जस्ता दुखद घटनासमेत बढ्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरे ।