समाचार

फागुन २१ को निर्वाचन: देशभर सेना फिल्डमा, हवाई गस्तीसमेत

२१ माघ, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि आजदेखि नेपाली सेना परिचालन भएको छ। निर्वाचन पूर्व सुरक्षा योजनाअनुसार सेना फिल्डमा निस्किएको हो।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार एकीकृत निर्वाचन सुरक्षा योजनाअन्तर्गत देशभर ७९ हजार ७२७ जना सैनिक परिचालन गरिएको छ। संवेदनशीलता मूल्यांकनका आधारमा आवश्यक स्थानमा नियमित तथा संयुक्त गस्ती गरिनेछ। निर्वाचन अधिकृत, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गर्दै सेना तेस्रो घेरामा रही सुरक्षा जिम्मेवारी निर्वाह गर्ने उनले बताए।

मन्त्रिपरिषद्को सिफारिसमा ११ मंसिरमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनका लागि स्वीकृति दिएका थिए। त्यसपछि सेनाले एकीकृत निर्वाचन सुरक्षा योजना तयार गर्नुका साथै तालिम र अभ्याससमेत सम्पन्न गरेको थियो। ९ असोजमा केन्द्रीय सुरक्षा समिति बैठकले गठन गरेको कार्यदलले तयार पारेको सुरक्षा योजना ३० कात्तिकमा स्वीकृत भएसँगै अहिले सोही योजनाअनुसार सुरक्षा गतिविधि सुरु गरिएको हो।

निर्वाचन अवधिमा नेपाली सेनाले हवाई गस्तीसमेत गर्नेछ। त्यसका लागि सुर्खेत, पोखरा, काठमाडौं, विराटनगर र इटहरीमा हेलिकप्टर ‘स्ट्यान्डबाइ’ अवस्थामा राखिएको छ। विकट तथा अति संवेदनशील क्षेत्रमा हवाई गस्ती गरिनेछ भने निर्वाचन अवधिभर तथा निर्वाचनपछि मतपेटिका ढुवानीका लागि पनि हेलिकप्टर प्रयोग गरिने व्यवस्था मिलाइएको छ। सडक सञ्जाल नपुगेका स्थानमा मतपेटिका र मतपत्र ढुवानीको जिम्मेवारी सेनाले लिनेछ।

साथै, निर्वाचन विथोल्ने प्रयासस्वरूप बम तथा विस्फोटक पदार्थ प्रयोग हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै बम डिस्पोजल टोलीसमेत तैनाथ गरिएको छ। ती टोली अति संवेदनशील मतदानस्थलमा ‘अलर्ट’ अवस्थामा रहनेछन्।

निर्वाचनका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालन हुने भएकाले महत्वपूर्ण प्रतिष्ठान, कारागार तथा विमानस्थलहरूको सुरक्षा जिम्मेवारी नेपाली सेनालाई दिइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थल, कारागार कार्यालय, सिंहदरबारलगायत महत्वपूर्ण स्थानमा सेनाले सुरक्षा प्रदान गर्नेछ। अघिल्ला निर्वाचनहरूमा पनि यस्ता प्रतिष्ठानको सुरक्षा नेपाली सेनाले गर्दै आएको थियो।