राजनीति

‘गठबन्धन बिना चुनाव लड्छौं, पहिलो पार्टी बन्छौं’: प्रचण्ड

२२ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने र सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गरेका छन् ।

आज बिहान नेकपा केन्द्रीय निर्वाचन परिचालन समितिको जुम बैठकलाई सम्बोधन गर्दै प्रचण्डले जनताबाट अस्वीकृत शक्तिसँग गठबन्धन नगर्ने स्पष्ट सन्देश दिएका हुन् । बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार प्रचण्डले पार्टी एक्लै चुनाव लडेर पहिलो पार्टी बन्नेमा पूर्ण विश्वस्त रहेको बताएका थिए ।

अन्य दलबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको उल्लेख गर्दै उनले प्रत्यक्ष निर्वाचनमा एमालेभन्दा बढी सिट जित्ने आधार तयार भइसकेको जिकिर गरे । साथै, उनले पार्टीका सबै नेता–कार्यकर्तालाई उत्साहका साथ निर्वाचन तयारीमा जुट्न र आधिकारिक उम्मेदवारलाई जिताउन निर्देशन दिए ।

बैठकलाई सम्बोधन गर्दै सहसंयोजक माधवकुमार नेपालले पनि विभिन्न दल र नेतासँग संवाद भए पनि पार्टीले एक्लै निर्वाचनमा होमिने निर्णयमा अडिग रहेको बताए । ‘राजनीतिमा छलफल र संवाद स्वाभाविक हुन्छ, तर हामी एक्लै चुनाव लडेर जित्नेछौं,’ उनले भने ।

आज बिहान ८ बजेदेखि करिब एक घण्टा चलेको जुम बैठकमा पार्टीका सबै केन्द्रीय सदस्यहरूको सहभागिता रहेको थियो ।