राजनीति

स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको योजना बनाउँछौँ : गगन थापा

२५ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको योजनाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार सार्वजनिक गरिएको भिडियो वक्तव्यमा उनले स्वास्थ्य समस्या समाधानको दीर्घकालीन र प्रभावकारी उपाय स्वास्थ्य बीमा नै भएको उल्लेख गर्दै कांग्रेस सरकारमा पुगेपछि यसलाई सुधार र विस्तार गर्ने बताएका हुन् ।

स्वास्थ्य मन्त्री रहँदा स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको स्मरण गर्दै थापाले उपचारकै क्रममा धेरै नागरिकको सम्पत्ति सकिएको, गरिबीमा धकेलिनुपरेको पीडा आफूले नजिकबाट देखेको बताए । त्यही जनस्वास्थ्य संकट समाधानका लागि स्वास्थ्य बीमा कार्यक्रम अघि सारिएको उनको भनाइ छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अवधारणा उल्लेख गर्दै उनले नेपालमा नागरिकले खल्तीबाट ५७ प्रतिशतसम्म स्वास्थ्य खर्च गर्नुपरेको तथ्य चिन्ताजनक रहेको बताए । सामान्यतया राज्यले कम्तीमा २० प्रतिशत खर्च व्यहोर्नुपर्ने मान्यता भए पनि नेपालमा त्यो अवस्था नरहेको उनले बताए ।

सभापति थापाले स्वास्थ्य बीमासम्बन्धी कानुन आफ्नै कार्यकालमा बनेको र त्यसले प्रत्येक नागरिकलाई बीमाको दायरामा ल्याउने व्यवस्था गरेको स्पष्ट पारे । अपांग, ज्येष्ठ नागरिक र बीमा शुल्क तिर्न नसक्ने वर्गको प्रिमियम राज्यले तिर्ने व्यवस्था गरिएको पनि उनले स्मरण गराए ।

हाल स्वास्थ्य बीमा कार्यक्रम अस्तव्यस्त बनेको भन्दै उनले यसलाई सच्याएर पुनः प्रभावकारी बनाउने बताए । अब प्रत्येक नेपाली नागरिकको स्वास्थ्य बीमा अनिवार्य हुनुपर्ने उनको जोड छ ।

स्वास्थ्य बीमालाई दिगो बनाउन उनले चार मुख्य योजना अघि सारेका छन् । औपचारिक क्षेत्रबाट सुरु गरी रक्सी, चुरोटजस्ता वस्तुमा लगाइने कर स्वास्थ्य बीमामा प्रयोग गर्ने, स्वास्थ्यका सबै कार्यक्रमलाई बीमाको फ्रेममा एकीकृत गर्ने, संघ–प्रदेश–स्थानीय तहका कार्यक्रम प्रणालीगत रूपमा जोड्ने र गभर्नेन्स सुधार गर्दै डिजिटल प्रणाली लागू गर्ने योजना उनले सुनाए ।

पाँच वर्षे कार्यकालमा सुरुमा अहिलेको अव्यवस्था हटाउने, त्यसपछि कभरेज विस्तार गर्ने र अन्ततः बीमा गरिएका नागरिकको सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्ने अवस्था बनाउने लक्ष्य रहेको थापाले बताए ।

‘स्वास्थ्य दान होइन, सुरक्षा हो । यो नागरिकको संवैधानिक अधिकार हो,’ भन्दै उनले त्यसको जिम्मेवारी पूरा गर्न स्वास्थ्य बीमा कार्यक्रम नै मुख्य आधार हुने स्पष्ट पारे ।