२६ माघ, काठमाडौं । नेपालमा नवजात शिशु, शिशु तथा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर सुदूरपश्चिम प्रदेशमा सबैभन्दा उच्च रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ ले यसबारे तथ्यांक सार्वजनिक गरेको हो ।
सर्वेक्षण अनुसार देशभर हरेक एक हजार जीवित जन्ममध्ये एक महिनाभित्र १७ नवजात शिशुको मृत्यु हुने गरेको छ । यस्तै, एक वर्ष नपुग्दै २७ शिशु र पाँच वर्षमुनिका ३१ बालबालिकाको मृत्यु हुने गरेको तथ्यांक छ ।
प्रदेशगत रूपमा हेर्दा नवजात शिशु मृत्युदर सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी रहेको छ । त्यहाँ प्रतिहजार जीवित जन्ममा २६ नवजात शिशुको मृत्यु हुने गरेको देखिएको छ । यसैगरी शिशु मृत्युदर पनि सुदूरपश्चिममै उच्च देखिएको छ, जहाँ प्रतिहजार ३८ शिशुको मृत्यु हुने गरेको छ । पाँच वर्षमुनिका बालबालिकाको मृत्युदरसमेत सुदूरपश्चिममा सबैभन्दा बढी प्रतिहजार ४८ रहेको कार्यालयले जनाएको छ ।
यसको विपरीत बागमती प्रदेशमा नवजात र शिशु मृत्युदर सबैभन्दा कम देखिएको छ । बागमतीमा नवजात शिशु मृत्युदर प्रतिहजार १० र शिशु मृत्युदर १७ रहेको छ । पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर भने गण्डकी प्रदेशमा सबैभन्दा कम प्रतिहजार २० रहेको सर्वेक्षणले देखाएको छ ।
सहर र ग्रामीण क्षेत्रको तुलना गर्दा नवजात शिशु मृत्युदर सहरी क्षेत्रमा प्रतिहजार १६ र ग्रामीण क्षेत्रमा १९ रहेको छ । एक वर्षमुनिका शिशुको मृत्युदर सहरी क्षेत्रमा २६ र ग्रामीण क्षेत्रमा २७ छ । पाँच वर्षमुनिका बालबालिकाको हकमा सहरी क्षेत्रमा प्रतिहजार ३१ र ग्रामीण क्षेत्रमा ३० बालबालिकाको मृत्यु हुने गरेको देखिएको छ ।
लैङ्गिक आधारमा हेर्दा नवजात, शिशु र बालबालिका सबै समूहमा बालकको मृत्युदर बालिकाभन्दा बढी रहेको छ । हरेक एक हजार जीवित जन्ममा एक महिनाभित्र १८ बालक र १५ बालिकाको मृत्यु हुने गरेको छ । शिशु मृत्युदरमा बालक २७ र बालिका २६ रहेको छ भने पाँच वर्षमुनिका बालबालिकामा बालकको मृत्युदर ३१ र बालिकाको ३० रहेको सर्वेक्षणले देखाएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार महिला तथा बालबालिकाको अवस्थाबारे राष्ट्रिय तथा क्षेत्रीय स्तरमा अनुगमन तथा योजना तर्जुमा गर्न आवश्यक तथ्यांक उपलब्ध गराउने उद्देश्यले नेपाल बहुसूचक सर्वेक्षण गरिएको हो । सर्वेक्षणका लागि देशभर ५४० गणना क्षेत्रमध्ये ३०४ सहरी र २३६ ग्रामीण क्षेत्रबाट क्लस्टर छनोट गरी प्रत्येक क्लस्टरबाट २४ परिवारका दरले कुल १२ हजार ९६० परिवारबाट विवरण संकलन गरिएको कार्यालयले जनाएको छ ।
दीगो विकास लक्ष्यअनुसार विश्वव्यापी रूपमा नवजात शिशु मृत्युदर प्रतिहजार १२ वा सोभन्दा कम र पाँच वर्षमुनिका बालमृत्युदर प्रतिहजार २५ वा सोभन्दा कममा झार्ने लक्ष्य तय गरिएको छ ।





