समाचार

प्रधानमन्त्री कार्की निर्वाचन तयारी बुझ्न सोलुखुम्बुमा

२९ माघ, काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तथा हिमाली जिल्लाको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री सुशीला कार्की सोलुखुम्बु पुगेकी छन्।

प्रधानमन्त्री कार्कीसँग प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ र प्रेस सल्लाहकार रामबहादुर रावलसहितको टोली आज बिहान हेलिकप्टरमार्फत सोलुखुम्बु पुगेको हो। टोली सुरुमा नाम्चे पुगेर त्यसपछि जिल्ला सदरमुकाम सल्लेरी पुगेको छ।

सल्लेरीमा प्रधानमन्त्री कार्कीलाई प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका जिल्ला प्रमुखहरूले स्वागत गर्दै जिल्लाको समग्र अवस्थाबारे जानकारी गराएका छन्। जिल्ला प्रशासनका अधिकारीहरूले अहिलेसम्मको परिस्थितिमा फागुन २१ गते निर्वाचन सम्पन्न गर्न कुनै समस्या नदेखिएको जानकारी गराएका छन्।

प्रेस सल्लाहकार रावलका अनुसार विगतका वर्षहरूमा फागुन महिनामा हिउँ परेको रेकर्ड नरहेकाले निर्वाचनमा अवरोध नआउने निष्कर्षसहितको ब्रिफिङ गरिएको हो।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी लीला कुमारी केसी पाण्डेका अनुसार जिल्लामा कुल १२३ मतदान स्थल रहेका छन्। सम्भावित रूपमा हिउँ परेमा सातवटा मतदान स्थल प्रभावित हुन सक्ने भए पनि तीमध्ये चार वटा नाम्चेभन्दा माथि पर्ने मतदान स्थल हाल सामान्य अवस्थामा रहेका छन्।

प्रधानमन्त्रीको टोलीले आज र भोलि पूर्वी हिमाली जिल्लाको अवस्था अध्ययन गरेपछि पश्चिमतर्फ जाने कार्यक्रम रहेको प्रेस सल्लाहकार रावलले जानकारी दिएका छन्।