अन्तर्राष्ट्रिय

बंगलादेशमा बीएनपीको बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित

१ फागुन, काठमाडौं । बंगलादेशमा बिहीबार सम्पन्न आम निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले स्पष्ट बहुमत हासिल गरेको छ । निर्वाचन परिणामसँगै पार्टी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको छ ।

३०० सिटको प्रतिनिधि सभामध्ये २९९ सिटमा मतदान भएको थियो । शेरपुर–३ क्षेत्रमा उम्मेदवारको मृत्यु भएपछि त्यहाँको मतदान स्थगित गरिएको निर्वाचन आयोगले जनाएको छ । ढाका ट्रिब्युनका अनुसार २९९ सिटमध्ये २०६ सिटको नतिजा सार्वजनिक हुँदा बीएनपीले १६५ सिट जितिसकेको छ ।

तारिक रहमानले दुई निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका थिए र दुवै क्षेत्रमा विजयी भएका छन् । उनी गत वर्ष डिसेम्बरमा १७ वर्षपछि स्वदेश फर्किएका थिए ।

जमात–ए–इस्लामीको नेतृत्वमा बनेको ११ दलीय गठबन्धनले हालसम्म ४५ सिट मात्र जितेको छ । जमात प्रमुख शफीकुर रहमान ढाका–१५ निर्वाचन क्षेत्रबाट निर्वाचित भएका छन् । अन्य दल तथा स्वतन्त्र उम्मेदवारले ३ सिटमा विजय हासिल गरेका छन् ।

बीएनपीको बलियो पुनरागमन

करिब दुई दशकदेखि सत्ताबाहिर रहेको बीएनपीले यस चुनावमार्फत उल्लेखनीय पुनरागमन गरेको छ । पार्टीले दुई तिहाइभन्दा बढी बहुमत प्राप्त हुने अपेक्षा समेत व्यक्त गरेको छ । मतदानपछि प्रतिक्रिया दिँदै तारिक रहमानले आफू प्रधानमन्त्री बनेमा देशको कानून–व्यवस्था सुधारलाई पहिलो प्राथमिकता बनाउने बताएका छन् ।

शेख हसिनाको अस्वीकार

जुलाई २०२४ मा भएको विद्यार्थी विद्रोहपछि बंगलादेशमा भएको यो पहिलो राष्ट्रिय निर्वाचन हो । हिंसात्मक आन्दोलन नियन्त्रणमा लिन नसकेपछि देश छाडेर भारत पुगेकी तत्कालीन प्रधानमन्त्री शेख हसिना को पार्टी अवामी लिगलाई प्रतिबन्ध लगाइएकाले उक्त पार्टी चुनावमा सहभागी हुन पाएन ।

हाल भारतमा निर्वासन जीवन बिताइरहेकी शेख हसिनाले यो निर्वाचनलाई पूर्ण रूपमा फर्जी र असंवैधानिक भएको दाबी गरेकी छन् । उनले अन्तरिम सरकार प्रमुख मोहम्मद युनुस ले गैरकानुनी ढंगले सत्ता कब्जा गरेर त्यही आधारमा चुनाव गराएको आरोप लगाएकी छन् ।