३ फागुन, काठमाडौं । सुर्खेत निर्वाचन क्षेत्र–१ मा प्रतिनिधिसभा सदस्यका लागि १३ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । उम्मेदवारहरू मतदातामाझ विकास, समृद्धि र जीवनस्तर सुधारका प्रतिबद्धता बोकेर प्रचारप्रसारमा व्यस्त छन् ।
नेकपा एमालेबाट ध्रुवकुमार शाही उम्मेदवार छन् । उनी २०७४ सालको निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का लाई हराएर चर्चामा आएका थिए । त्यस निर्वाचनमा शाहीले ३६ हजार ७५९ मत ल्याउँदा खड्काले ३३ हजार ३७७ मत पाएका थिए । २०७० सालको चुनावमा भने शाही खड्कासँग पराजित भएका थिए ।
यसपटक खड्का चुनावी प्रतिस्पर्धामा छैनन् । कांग्रेसबाट उनका भाइ विष्णुबहादुर खड्का उम्मेदवार बनेका छन् । शाहीले सुर्खेतले अपेक्षित विकासको गति लिन नसकेको बताउँदै आगामी दिनमा विकास र समृद्धिका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । उता विष्णुबहादुरले कांग्रेसले अघि सारेका योजनालाई निरन्तरता दिने र नयाँ सम्भावना खोज्ने एजेन्डासहित मत मागिरहेका छन् ।
नेपाली कम्युनिस्ट पार्टीबाट जीतबहादुर राना उम्मेदवार छन् । माओवादी सशस्त्र संघर्षमा संलग्न भइसकेका रानाले नागरिकको जीवनस्तर सुधार मुख्य मुद्दा बनाएका छन् । बहुदल यताका सात निर्वाचनमध्ये यस क्षेत्रमा पाँचपटक कांग्रेस र दुईपटक एमाले विजयी भएका छन् । रानाले जितेमा उनको पार्टीको यो पहिलो जित हुनेछ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ५४ वर्षीय टेकबहादुर सिंह उम्मेदवार छन् । लामो समय कांग्रेस राजनीतिमा सक्रिय रहेका सिंह २०८२ मंसिरमा कांग्रेस छाडेर रास्वपामा प्रवेश गरेका हुन् । उनले वंशवादी राजनीति, भ्रष्टाचारविरुद्ध आवाज र किसानका मुद्दालाई राष्ट्रिय प्राथमिकतामा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट २८ वर्षीया रवि हमाल ठकुरी उम्मेदवार छन् । राप्रपाको केन्द्रीय सदस्यसमेत रहेकी हमाल कुशासन, भ्रष्टाचार र व्यथितिविरुद्धको आवाजका रूपमा परिचित छन् । चिकित्सा शिक्षा सुधार आन्दोलनदेखि सक्रिय राजनीतिमा रहेकी उनले पनि विकास र सुशासनलाई मुख्य एजेन्डा बनाएकी छन् ।
यसपटक ठूला दलहरू आ–आफ्नै बलमा चुनावी मैदानमा उत्रिएका कारण सुर्खेत–१ को नतिजा सबै दलका लागि महत्वपूर्ण परीक्षा बनेको छ । मतदाताले कसको विकासको सपना विश्वास गर्ने भन्ने निर्णय अब मतदानबाट हुने देखिन्छ ।





