समाचार

राप्रपाको अडान: चुनावअघि राष्ट्रिय सहमति, राजाको सन्देशलाई पूर्ण समर्थन

७ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहले देशवासीका नाममा दिएको सन्देशको स्वागत तथा समर्थन गरेको छ।

धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा आज बसेको केन्द्रीय पदाधिकारी बैठकले राजाको सन्देशलाई मुलुकको यथार्थ अवस्थाको प्रतिबिम्बका रूपमा व्याख्या गर्दै आसन्न निर्वाचनअघि राष्ट्रिय समस्याको समाधानका लागि व्यापक सहमति आवश्यक रहेको निष्कर्ष निकालेको हो।

बैठक अध्यक्ष राजेन्द्र लिङ्देन उपत्यका बाहिर रहेकाले उनको निर्देशनमा वरिष्ठ नेता तथा उपाध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकमा पूर्वअध्यक्षद्वय प्रकाशचन्द्र लोहनी र कमल थापालगायत उपलब्ध केन्द्रीय पदाधिकारी सहभागी थिए।

बैठकले निर्वाचनपछि द्वन्द्व, अशान्ति र राजनीतिक खिचातानी नहोस् भन्ने उद्देश्यले सबै राजनीतिक शक्ति र विचार समेटिने गरी राष्ट्रिय सहमति कायम गरेर मात्र निर्वाचन प्रक्रियामा जानु उपयुक्त हुने धारणा दोहोर्‍याएको छ। राप्रपाले सर्वपक्षीय सम्मेलनमार्फत नवीन समझदारी कायम गर्नुपर्ने विषयमा आफूले निरन्तर आवाज उठाउँदै आएको पनि जनाएको छ।

यसै सन्दर्भमा पार्टीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनुका साथै विभिन्न राजनीतिक दलहरूसँग संवाद र छलफललाई निरन्तरता दिएको जनाएको छ। राप्रपाले यथासम्भव निर्वाचनपूर्व नै राष्ट्रिय समस्याको समाधानका लागि समझदारी कायम गर्न सरकार र दलहरूलाई पुनः आग्रह गरेको छ।

साथै, राजाको सन्देश र पार्टीको नीति अनुरूप उच्च मनोबलका साथ चुनावी अभियानमा सक्रिय रहँदै नवीन सहमतिका लागि दबाब सिर्जना गर्न र आम जनतालाई जागरुक बनाउन पार्टीले आह्वान गरेको छ।