बाग्मती

शिवरात्रिको भोलिपल्ट पशुपतिमा युवक मृत फेला, ‘बाबा’ फरारपछि हत्या आशंका

८ फागुन, काठमाडौं । महाशिवरात्रिको भोलिपल्ट पशुपतिनाथ मन्दिर परिसरमा एक युवक मृत अवस्थामा फेला परेका छन्। घटनापछि प्रहरीले सन्दिग्ध मृत्युको रूपमा अनुसन्धान अघि बढाएको छ।

प्रहरी वृत्त गौशालाले घटनास्थलको मुचुल्का गरी प्रारम्भिक अनुसन्धान थालेको थियो। मृतकको शरीरमा निलडाम र चोटपटक देखिएपछि घटनालाई शंकास्पद मान्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोली पनि अनुसन्धानमा खटिएको छ।

मृतक संखुवासभा घर भएका २५ वर्षीय सन्तोष गिरी रहेको पुष्टि भएको छ। अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार शरीरमा देखिएका चोटका कारण घटनालाई गम्भीर रूपमा हेरिएको छ। गिरी पशुपति क्षेत्रमै बसोबास गर्दै मागेर खाने गरेको प्रहरीको भनाइ छ।

शवको प्रकृति हेर्दा हत्या भएको आशंका गर्दै प्रहरीले पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ। पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको वास्तविक कारण खुल्ने अपेक्षा गरिएको छ।

अनुसन्धानका क्रममा घटनामा एक ‘बाबा’को संलग्नता देखिएको प्रहरी स्रोतको दाबी छ। शिवरात्रिको अवसरमा पशुपति आएका ती बाबाको मोबाइल हराएको र त्यसमा गिरीमाथि चोरीको आरोप लागेको बताइएको छ। स्रोतका अनुसार बाबाले गिरीलाई पक्राउ गराई प्रहरीसमक्ष बुझाएका थिए। तर मोबाइल नभेटिएपछि प्रहरीले छाडेका गिरीलाई बाबाले पुनः आफ्नो नियन्त्रणमा लिएर रातभर यातना दिएको आशंका गरिएको छ।

लामो समय भारतको बनारसमा बसेका ती बाबा पछिल्लो समय नेपालमै बस्दै आएका थिए। प्रहरीका अनुसार राजवंशी थरका उनी नेपाली नागरिक हुन्। घटनाको रात गिरीसँगै देखिएका ती बाबा अहिले फरार रहेका छन्। प्रहरीका अनुसार उनको पहिचान खुलिसकेको छ र खोजी कार्य तीव्र पारिएको छ।

घटनाबारे औपचारिक रूपमा विस्तृत जानकारी सार्वजनिक नभए पनि प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ।