८ फागुन, पोखरा । प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताएकी छन्।
शुक्रबार पोखरा विश्वविद्यालयको २१ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले शिक्षा समकालीन समाजको आवश्यकताअनुसार सीप, रोजगारी, उद्यमशीलता र नवप्रवर्तनसँग जोडिनुपर्नेमा जोड दिइन्। उनका अनुसार विश्वविद्यालयले नैतिकवान् र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने दिशामा ध्यान केन्द्रित गर्न आवश्यक छ।
प्रधानमन्त्री कार्कीले नवीन प्रविधि विकास र अनुसन्धानमा आधारित प्राज्ञिक गतिविधिलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै विश्वविद्यालयका कार्यक्रमहरूलाई मुलुकको अर्थतन्त्र सुदृढीकरणसँग प्रत्यक्ष रूपमा जोड्नुपर्ने धारणा राखिन्। शिक्षा आर्थिक समृद्धि र मानव कल्याणसँग नजोडिए ज्ञान र पाठ्यक्रम सन्दर्भहीन हुने उनको भनाइ थियो।
उनले विश्वविद्यालय अध्ययन पूरा गरेलगत्तै ठूलो संख्यामा युवाहरू विदेशिनु चिन्ताको विषय भएको उल्लेख गर्दै बदलिँदो विश्व परिवेशअनुसार आफूलाई सक्षम, प्रतिस्पर्धी र अनुकूल बनाउन विद्यार्थी र शैक्षिक संस्थाहरू दुवैले प्रयास गर्नुपर्ने बताइन्।
गुणस्तरमा विशेष ध्यान दिँदै विश्व बजारको मागअनुसार जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता औंल्याउँदै प्रधानमन्त्री कार्कीले दीक्षार्थीले प्राप्त गरेको प्रमाणपत्र रोजगारीको माध्यम मात्र नभई राष्ट्रका जटिल समस्या पहिचान गरी दीर्घकालीन समाधान खोज्न सक्ने क्षमताको प्रतीक बन्नुपर्नेमा जोड दिइन्।





