काठमाडौं । नेपालका विभिन्न विकास आयोजना र सेवामूलक क्षेत्रमा विदेशी कामदारको संलग्नता उल्लेखनीय रूपमा बढ्दै गएको देखिएको छ। श्रम, रोजगार तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार हाल ७४ देशका नागरिकहरूले श्रम स्वीकृति लिएर नेपालमा काम गरिरहेका छन्।
गत आर्थिक वर्ष २०८१/८२ मा २ हजार ५५९ जना विदेशीले श्रम इजाजत लिएका थिए। तीमध्ये ८९२ जनाले नयाँ स्वीकृति लिएका हुन् भने १ हजार ६६७ जनाले नवीकरण गरेका थिए। चालु आर्थिक वर्षको माघ मसान्तसम्म थप १ हजार १६६ जनाले श्रम स्वीकृति प्राप्त गरिसकेका छन्।
संख्यात्मक रूपमा सबैभन्दा धेरै चिनियाँ नागरिक कार्यरत छन्। विभागका महानिर्देशक चक्रपाणी पाण्डेका अनुसार प्रत्येक वर्ष करिब १ हजार ६०० चिनियाँ नागरिक नेपालका विभिन्न परियोजनामा संलग्न हुन्छन्। बेलायत र जापानबाट पनि सयभन्दा बढी नागरिक नेपालमा सक्रिय छन्।
भारतीय श्रमिकको वास्तविक संख्या अस्पष्ट
नेपाल–भारतबीच सन् १९५० को सन्धिअनुसार दुवै देशका नागरिकलाई एकअर्काको देशमा काम गर्न श्रम स्वीकृति आवश्यक नपर्ने व्यवस्था छ। त्यसैले सरकारी तथ्यांकमा भारतीय श्रमिकको यथार्थ संख्या देखिँदैन।
निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहका अनुसार निर्माण क्षेत्रमा मात्रै करिब ७ लाख भारतीय मजदुर कार्यरत छन्। अन्य क्षेत्रसमेत जोड्दा यो संख्या २० लाख नाघ्न सक्ने अनुमान छ। नेपाली युवा वैदेशिक रोजगारीतर्फ आकर्षित हुँदा निर्माण क्षेत्रमा भारतीय श्रमिकमाथि निर्भरता बढेको बताइएको छ।
विदेशीहरू कुन–कुन क्षेत्रमा ?
विदेशी दक्ष जनशक्ति विशेषगरी प्रविधि र ठूला पूर्वाधार आयोजनामा केन्द्रित छन्। सुरुङ, जलविद्युत, सिमेन्ट उद्योगजस्ता निर्माण परियोजनामा विदेशी प्राविधिक संलग्न छन्। शिक्षा क्षेत्रमा अन्तर्राष्ट्रिय विद्यालय र विश्वविद्यालयमा विदेशी शिक्षक कार्यरत छन्। केही अस्पतालमा विदेशी विशेषज्ञ चिकित्सक तथा एयरलाइन्स कम्पनीमा विदेशी प्राविधिक र व्यवस्थापक पनि काम गरिरहेका छन्।
कानुनी व्यवस्था र चुनौती
नेपालको श्रम ऐनअनुसार विदेशी दक्ष कामदारले अधिकतम ५ वर्षसम्म काम गर्न पाउने व्यवस्था छ, जसका लागि पुनःस्थापना योजना अनिवार्य हुन्छ। प्राविधिक कामदारले ३ वर्ष र उच्च प्राविधिकले विशेष अवस्थामा १२ वर्षसम्म नवीकरण गर्न पाउने प्रावधान छ।
सरकारसँग विशेष सम्झौता भएका बाहेक सबै क्षेत्रमा विदेशीले श्रम स्वीकृति लिनैपर्छ। विना इजाजत काम लगाइए कारबाही हुने विभागले जनाएको छ।
यसबीच निर्माण क्षेत्रमा मजदुर तानातान, पेश्की डुब्ने र समय–लागत बढ्ने समस्या पनि देखिएको छ। स्वदेशमै श्रमको सम्मान र अवसर अभाव हुँदा नेपाली युवा बाहिरिने र देशभित्र विदेशी ल्याउनुपर्ने अवस्था सिर्जना भएको विश्लेषण गरिएको छ।





