१५ फागुन, काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सामान्य निर्वाचन नभएको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित चुनावी कार्यक्रममा नुवाकोट र काठमाडौंका पार्टी नेता–कार्यकर्तालाई सम्बोधन गर्दै उनले वर्तमान निर्वाचनलाई विशेष परिस्थितिबाट उत्पन्न भएको राजनीतिक प्रक्रियाको निरन्तरता भएको उल्लेख गरे। उनका अनुसार यो निर्वाचन २३ गते भएको जेनजी आन्दोलनमाथिको दमनपछि बनेको अवस्थाको परिणाम हो।
प्रचण्डले २३ गते युवामाथि गरिएको दमन र २४ गते भएको विध्वंसलाई दुई फरक अतिवादी प्रवृत्तिको परिणाम भन्दै त्यसविरुद्ध जनमत अभिव्यक्त गर्ने अवसरका रूपमा यो निर्वाचनलाई चित्रित गरे। उनले देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिको चलखेलप्रति पनि संकेत गर्दै त्यसको सामना गर्न पार्टी तयार रहेको दाबी गरे।
उनले भने, “यो राष्ट्र, लोकतन्त्र र लामो संघर्षबाट प्राप्त अधिकारको रक्षा गर्ने चुनाव हो।” त्यसैले निर्वाचनलाई सामान्य रूपमा नलिई जीवन–मरणको संघर्षका रूपमा अघि बढ्न कार्यकर्तालाई आग्रह गरे।
प्रचण्डले आफ्नो पार्टी एकताबद्ध रहेको र जनस्तरमा सकारात्मक उभार देखिएको दाबी गर्दै राष्ट्रको एकता र स्वाधीनताको रक्षाका लागि पार्टी प्रतिबद्ध रहेको बताए।





