समाचार

मतदाता आएनन्, अपिहिमाल–३ मतदान केन्द्र शून्य

२१ फागुन, दार्चुला । दार्चुलाको दुधिला मावि अपिहिमाल–३ मतदान केन्द्रमा आजसम्म मतदान सुरु भएको छैन। स्थानीयबासीले मत हाल्न नआएको कारणले निर्वाचन प्रक्रिया रोकिएको हो।

यसअघि नै यहाँका स्थानीयहरूले दुई मतदान केन्द्रमा मतदान नगर्ने निर्णय गरिसकेका थिए। नौगाड गाउँपालिका–१ को गौरीशंकर आधारभूत विद्यालय, नागु र अपिहिमाल गाउँपालिका–३ को दुधिला आधारभूत विद्यालय, झुस्कुका मतदाताले यस पटक पनि मतदान नगर्ने निर्णय गरेका छन्।

बुधबार पनि सुदूरपश्चिम प्रदेश सरकारका मुख्य सचिव बैकुण्ठ अर्याल नागु पुगेर स्थानीयसँग छलफल गरे, तर मतदाता आफ्नो निर्णयमा अडिग रहे। अर्याल धनगढीबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत नागु पुगेका थिए र स्थानीय नागु विकास संघर्ष समितिसँग वार्ता गरे।

संघर्ष समितिका संयोजक करनसिंह डडालका अनुसार, माघ १ गते नै गठित संघर्ष समितिले नो भोटको पक्षमा उभिएको र यो पटक पनि मतदान नगर्ने निर्णय कायम राखेको हो। उनले भने, “प्रदेश सरकारको प्रस्ताव ढिलो आएपछि जनतासँग छलफल गर्ने पर्याप्त समय पाइएको थिएन। आगामी बजेटमा सम्बोधन गर्ने आश्वासन भए पनि स्थानीयले पत्याउने अवस्था थिएन।”

पहिले पनि प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको नेतृत्वमा एक टोली माघ २४ गते नागु पुगेको थियो, तर जनताको निर्णयमा परिवर्तन आएको थिएन। निर्वाचनका लागि तयारी मतदान अधिकृत चन्द्रसिंह खातीले सर्वदलीय बैठकमा दलको प्रतिनिधि नआए पनि स्थानीय सहभागितासहित सुरु गरेको जानकारी दिएका थिए।

गौरीशंकर माध्यमिक विद्यालय मतदान केन्द्रमा ६०२ मतदाता रहेका छन्। अपिहिमाल–३ का केही बस्तीमा १५ फागुनदेखि नो भोट अभियान चलिरहेको छ। ०७४ सालको वडा विभाजनपछि वडा नं. ३ का अधिकांश वस्तीले आफूलाई अपायक ठानेर मतदान नगर्ने निर्णय गरेका छन्।

कमलसिंह रोकायाले बताएअनुसार, दुधिला आधारभूत विद्यालय मतदान केन्द्रअन्तर्गत झुस्कु, चौड, छविस, भट्टार गाउँका मतदाताले पनि पुनः बैठकमा मतदान नगर्ने निर्णय दोहोर्‍याएका छन्। यहाँ ३४६ मतदाता छन्।