२२ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रञ्जु दर्शना न्यौपाने १५ हजार ४५५ मत प्राप्त गरी विजयी भएकी छन् ।
आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापा क्षेत्रीलाई नौ हजार ९१ मतान्तरले पछि पार्दै ३० वर्षीया न्यौपाने निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले जानकारी दिए । कांग्रेसका थापा क्षेत्रीले छ हजार ३६४ मत प्राप्त गरे । सो क्षेत्रमा २९ हजार ७७४ मत खसेकामा २९ हजार ८२ सदर र ६९२ मत बदर भएको थियो ।
न्यौपानेको राजनीतिक पृष्ठभूमिः
वैकल्पिक राजनीतिक धारको नेतृत्व गर्दै राजनीतिमा सक्रिय भएकी नेत्री न्यौपाने निर्वाचन अघि विवेकशील साझा पार्टीबाट रास्वपामा प्रवेश गरेकी थिईन् । यसअघि २०७४ मा उनी २१ वर्षको उमेरमै काठमाडौँ महानगरपालिकाको प्रमुखको प्रत्यासी थिईन्। उनी विवेकशील साझा पार्टीकी पूर्वमहासचिवसमेत थिईन् । उनले राजनीतिशास्त्र र परामर्श मनोविज्ञानमा स्नातकोत्तर गरेकी छन् । महिला हिंसाविरुद्ध स्पष्ट र सशक्त आवाज उठाउँदै आएकी न्यौपानेले थेम्स कलेजमा अध्यापक र निकोलसन इन्टरनेसनल कलेजमा अतिथि प्राध्यापकको भूमिकासहित सामाजिक शिक्षा विषय विशेषज्ञका रुपमा अनुभव बटुलेका छन् । सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको पक्षधर उनी सामाजिक अभिन्ताका रुपमा परिचित छन् ।
विजयी भएकी रञ्जुले दोब्बर भन्दा धेरै बढी वा झण्डै तेब्बर मत-मतान्तरले काँग्रेसका थापालाई पराजीत गर्दा राप्रपाका वरिष्ठ नेता रविन्द्र मिश्र तीन हजार ९७२ मतसहित यसभन्दा अगाडीको मतबाटसमेत धेरै तल झर्दै तेस्रो भएका छन् । नेकपा एमालेका मोहन रेग्मीले एक हजार ६१८ मत ल्याएका छन् ।





