आर्थिक

सेयर बजारमा २१ अर्बभन्दा बढीको कारोबार, नेप्से घट्यो

२६ फागुन, काठमाडौं । मंगलबार सेयर बजारमा साढे सात महिनायता सबैभन्दा उच्च कारोबार भएको छ। यस दिन २१ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यसअघि साउन ११ गते २६ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको थियो भने २०८१ भदौको अन्तिम दिन २९ अर्ब ९५ करोड रुपैयाँको रेकर्ड कायम भएको थियो।

चुनावपछि खुलेको बजारमा अघिल्लो दिन तीन पटक सकारात्मक सर्किट ब्रेक लागेसँगै कारोबार स्थगित भएको थियो। त्यसले गर्दा लगानीकर्ताले कारोबार गर्न पाएका थिएनन् र अघिल्लो दिन जम्मा ५५ करोड रुपैयाँको कारोबार मात्र भएको थियो।

आजको कारोबार रकम उच्च भए पनि नेप्से परिसूचक ३२.०८ अंक (१.११ प्रतिशत) घटेर २८४३ अंकमा कायम भयो। अघिल्लो दिन परिसूचक ६ प्रतिशत बढेर कारोबार स्थगित भएको थियो।

बजारमा आज तीव्र उतारचढाव देखियो। कारोबार सुरु भएपछि नेप्से परिसूचक १२:३५ बजे २७९६ अंकसम्म झरेको थियो र त्यसपछि सम्हालिएर अन्तिम समयसम्म कायम रह्यो।

आज ७८ कम्पनीको मूल्य बढ्दा १७८ कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रह्यो। निर्जीवन बीमा ०.४७ प्रतिशत र जीवन बीमा ०.५१ प्रतिशतले बढेको छ। बैंकिङ १.२७, विकास बैंक १.१६, फाइनान्स २.०६, होटल तथा पर्यटन १.८५, जलविद्युत् १.४५, लगानी १.४८, उत्पादन तथा प्रशोधन १.८२, माइक्रोफाइनान्स ०.१७, अन्य १.४० र व्यापार २.१२ प्रतिशतले घटेको छ।

आज दुई कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। ती कम्पनीहरू हुन् रिलायन्स स्पिनिङ मिल्स र साल्पा विकास बैंक। थ्रीस्टार हाइड्रोपावरको मूल्य ९.०८, कालिका पावर ८.८७ र लाइफ इन्स्योरेन्स कर्पोरेसन ५.४२ प्रतिशतले बढेका छन्।

सबैभन्दा धेरै मूल्य घट्ने कम्पनी हिमस्टार ऊर्जा रहेको छ जसको मूल्य ६.३६ प्रतिशतले घटेको छ। आज धेरै कारोबार भएका पाँच कम्पनीहरूमा ङादी ग्रुप, आँखुखोला जलविद्युत्, अपी पावर, रिडी पावर र शिवम् सिमेन्ट रहेका छन्।