काठमाडौं, २६ फागुन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भोलि (बुधबार) भारत जाने भएका छन्। उनका सचिवालयले जानकारी दिएको अनुसार, उनी नयाँदिल्लीमा आयोजना हुने ‘एनएक्सटी २०२६’ ग्लोबल समिटमा सहभागी हुनेछन्।
समिट मार्च १२, १३ र १४ मा नयाँदिल्लीस्थित भारत मण्डपमा हुने छ। यस कार्यक्रममा विश्वभरिका नीति–निर्माता, सांसद, प्रविधि विज्ञ, व्यवसायी र शैक्षिक क्षेत्रमा प्रतिनिधिहरू सहभागी हुने आयोजकले जानकारी दिएका छन्।
भट्टराई यस समिटमा ‘गेस्ट अफ अनर’ को रूपमा सहभागी हुँदै मार्च १४ मा ‘डेमोक्रेसी इन द एज अफ एआई: डिजिटल गभर्नेन्स एण्ड द युथ’ शीर्षकमा आफ्नो सत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
आयोजकले समिटमा विश्व शासन, प्रविधि, अर्थतन्त्र, शिक्षा, सुरक्षा, स्वास्थ्य, वातावरण तथा अन्तर्राष्ट्रिय सम्बन्ध जस्ता समसामयिक विषयमा छलफल हुने बताएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि कार्यक्रममा उपस्थित हुनेछन्।
डा. भट्टराई मार्च १४ मा स्वदेश फर्कनेछन्।





