समाचार

इतिहासकार आचार्य को १३९ औँ जन्मजयन्तीको अवसरमा विशेष विचार–गोष्ठी हुँने

२९ फागुन, काठमाडौं । इतिहासकार बाबुराम आचार्य को १३९ औँ जन्मजयन्तीको अवसरमा विशेष विचार–गोष्ठी कार्यक्रम आयोजना गरिने भएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान र इतिहासशिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानको सहकार्यमा “बाबुराम आचार्य र नेपालको इतिहास” विषयक गोष्ठी आज दिउँसो १२ बजे प्रज्ञा–प्रतिष्ठानको देवकोटा सभाकक्ष, कमलादीमा आयोजना हुने भएको हो ।

उक्त कार्यक्रममा इतिहासकार आचार्यको योगदान, नेपालको इतिहास लेखनमा उनले पुर्‍याएको भूमिका तथा समकालीन इतिहास अध्ययनका विषयमा छलफल हुने आयोजकले जानकारी दिएका छन् ।

प्रा.डा सुरेन्द्र केसीको सभापतित्व तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यतामा सम्पन्न हुने उक्त विचार गोष्ठीमा प्रा.डा बिना पौडेल र प्रा.डा दयाराम श्रेष्ठले विचार प्रस्तुत गर्नेछन् ।

कार्यक्रममा विभिन्न विद्वान, अनुसन्धानकर्ता तथा इतिहासमा रुचि राख्ने व्यक्तिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। साथै कार्यक्रममा प्रतिष्ठानका पदाधिकारीहरू पनि उपस्थित रहनेछन्। धनप्रसाद सुवेदी, सदस्य–सचिव, नेपाल प्रज्ञा–प्रतिष्ठान ले कार्यक्रममा सहभागी हुन सरोकारवालाहरूलाई हार्दिक निमन्त्रणा दिएका छन्।

इतिहासशिरोमणि बाबुराम आचार्यले नेपालको इतिहास अनुसन्धान, लेखन तथा दस्तावेजीकरणमा महत्वपूर्ण योगदान दिएका थिए। उनको जन्मजयन्तीको अवसरमा आयोजना हुने यस्तो कार्यक्रमले नयाँ पुस्तालाई नेपालको इतिहासबारे थप जानकारी दिन मद्दत पुग्ने विश्वास गरिएको छ।

कार्यक्रमसम्बन्धी थप जानकारीका लागि आयोजक संस्थाका वेबसाइटहरू www.nepalacademy.gov.np र www.baburamfoundation.org.np मार्फत जानकारी लिन सकिने बताइएको छ।