२९ फागुन, काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सार्वजनिक पूर्वाधारलाई अपाङ्गतामैत्री तथा महिलामैत्री बनाउन निर्देशन दिएको छ । आज सानो गौचरन रङ्गशाला र स्केट बोर्ड पार्कको अनुगमनका क्रममा उनले उक्त निर्देशन दिएको हो ।
अनुगमन समितिका संयोजकसमेत रहेकी डङ्गोलले सार्वजनिक पूर्वाधार निर्माणको डिजाइनबाट अपाङ्गता भएका व्यक्ति र महिलाको पहुँचलाई ध्यान दिनुपर्ने बताए ।
सानो गौचरन रङ्गशालामा अपाङ्गता भएका व्यक्तिहरूका लागि संरचना नदेखेपछि उहाँले भन्नुभयो, “लिफ्ट राखेर अपाङ्गता भएका व्यक्तिहरूलाई प्यारापिटसम्म पुग्ने वातावरण बनाउनुहोला ।” हालसम्म रङ्गशालाको ७५ प्रतिशत भौतिक प्रगति र ६८ प्रतिशत वित्तीय प्रगति भएको छ । सो रङ्गशाला निर्माण रु १८ करोड ८६ लाख ७४ हजार ८२७ मा शुभ कन्स्ट्रक्सनले पुनःनिर्माण गरिरहेको छ । रङ्गशाला रु १८ रोपनी १ आना २ पैसा ३ दान (९२११.५ वर्गमिटर) क्षेत्रफलमा फैलिएको छ ।
रङ्गशालाको दर्शक क्षमता एक हजार ५०० जनाको छ । ९६ दशमलव ६२ मिटरको खेलमैदान हुनेछ । आगामी चैत मसान्तभित्र रङ्गशाला निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । तीन हजार ७६० वर्गमिटर क्षेत्रफलमा स्केट बोर्ड पार्क निर्माण हुँदैछ । यससँगै बास्केटबल कोर्ट, भलिबल कोर्ट र एम्पिथिएटर निर्माण हुनेछ ।





