समाचार

भदौ २३–२४ घटनामा ठूलो खुलासा ? सरकार भन्छ-प्रतिवेदन भोलि सार्वजनिक

१ चैत, काठमाडौं । सरकारले भदौ २३ र २४ मा भएका घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको विस्तृत विवरण सोमबार सार्वजनिक गर्ने संकेत दिएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्याल ले सञ्चारकर्मीसँग कुरा गर्दै प्रतिवेदनको विस्तृत जानकारी भोलि सार्वजनिक गरिने बताएका हुन्।

उनका अनुसार मन्त्रिपरिषद्ले हाललाई आयोगको प्रतिवेदन ग्रहण गरेर अध्ययन गर्ने निर्णय मात्र गरेको छ। “प्रतिवेदन अध्ययन गर्नेगरी मन्त्रिपरिषद्ले ग्रहण गरेको हो, अहिलेको निर्णय यही हो,” उनले भने, “यसको विस्तृत विवरण भने भोलि आउँछ।”

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गर्न गठन गरिएको आयोगले तयार पारेको प्रतिवेदनबारे मन्त्रिपरिषद् बैठकमा छलफल भएको थियो। तर उक्त प्रतिवेदन अहिलेसम्म औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।

स्रोतका अनुसार प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक तथा तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ सहित केही व्यक्तिमाथि फौजदारी अनुसन्धान गर्न सिफारिस गरिएको उल्लेख छ।

यसैबीच प्रतिवेदन पूर्ण रूपमा सार्वजनिक गर्नुपर्ने माग विभिन्न पक्षबाट बढ्दै गएको छ। सरकारले सोमबार सार्वजनिक गर्ने भनिएको विस्तृत विवरणले घटनाबारे थप तथ्य उजागर गर्ने अपेक्षा गरिएको छ।