१ चैत, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनले हेमराज शर्मालाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको छ। शनिबारदेखि काठमाडौंमा जारी महाधिवेशनमा वर्तमान उपाध्यक्ष शर्मा सर्वसम्मत रुपमा अध्यक्ष बन्ने सहमति भएको एक पदाधिकारीले अनलाइनखबरलाई जानकारी दिए।
यसअघि, संघमा डा. बद्री केसी र महेश श्रेष्ठ नेतृत्वका दुई अलग कार्यसमितिहरू थिए। यी दुई संस्थाबीच लामो समयदेखि एकताको प्रयास भइरहे पनि सफल हुन सकेको थिएन। तर गत मंसिर दोस्रो साता दुबै पक्षले एक हुने सहमति गरेको थियो। एकीकरण पश्चात् महाधिवेशनले दुवै पक्षबाट ५०/५० प्रतिशत दरले पदाधिकारी र कार्यसमितिको चयन गर्ने निर्णय गरेको छ।
सहमति अनुसार, संघमा एक अध्यक्ष र दुई महासचिवको पद रहनेछ। उपाध्यक्ष र अन्य पदाधिकारीको संरचना अझै अन्तिम रूपमा तय हुन बाँकी छ। हालसम्म उपाध्यक्ष पदमा श्रेष्ठ समूहबाट बुद्धिसागर सुवेदी, मनोज गोर्खाली र लोक दाहाल, र केसी समूहबाट रोविन शेरचन र रोजिना प्रधान राई चयन हुने सहमति भएको स्रोतले बताए। उपाध्यक्षको संख्या हाल आठ जना रहेको छ र आवश्यक भए थपिने सम्भावना पनि छ।
महासचिवको पदमा केसी समूहबाट डा. चिरञ्जिवि खड्काको नाम तय भइसकेको छ भने श्रेष्ठ समूहको नाममा सहमति जुट्न बाँकी रहेको छ।
अघिल्लो चरणमा अध्यक्ष पदमा रोविन शेरचन, रविन बज्राचार्य र हेमराज शर्माले दाबी गरेका थिए। शेरचन र शर्माबीच पहिल्यै सहमति भएकोले आइतबार बज्राचार्यले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए।
संघको पदाधिकारी संख्या बढाउँदा विधान संशोधन आवश्यक हुन्छ। सहमति अनुसार पदाधिकारीको संख्या र नाम तय भएपछि महाधिवेशनबाट विधान संशोधन पारित गरिनेछ। संशोधित विधान परराष्ट्र मन्त्रालयको स्वीकृति पछि मात्रै लागू हुनेछ। एक पदाधिकारीका अनुसार, “विधान संशोधन भएपछि केही घण्टामै मन्त्रालयबाट स्वीकृति आउने आश्वासन प्राप्त भएको छ। सोमबारसम्म विधान संशोधन र कार्यसमिति चयनको काम सम्पन्न हुनेछ।”





