शिक्षा

‘नयाँ सरकार गठनसँगै राजनीति र आर्थिक स्थायित्व हुने अपेक्षा’

२ चैत, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख प्राडा रामप्रसाद ज्ञवालीले नयाँ सरकार गठनसँगै आर्थिक नीतिमा दीर्घकालीन स्थायित्व आउने विश्वास जनतामा देखिएको बताएका छन् ।

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि झण्डै दुई तिहाइ बहुमतको सरकार गठन हुने र त्यसले राजनीतिक स्थिरता कायम भई आर्थिक नीतिमा स्थायित्व आउने अपेक्षा गर्न सकिने उनले उल्लेख गरे । उनले सरकारले आर्थिक नीतिमा स्थायित्व कायम गर्नु, जेनजी आन्दोलनबाट भएको क्षतिको पुनर्निर्माणलाई प्राथमिकता दिनु र निजी क्षेत्रको लगानी वातावरण सुधार गर्नु आवश्यक रहेकामा जोड दिए ।

“सरकार परिवर्तनसँगै आर्थिक नीतिमा बारम्बार परिवर्तन गर्दा व्यावसायिक क्षेत्र र लगानीकर्तामा अनिश्चितता सिर्जना हुन्छ । एक वर्ष एउटा नीति र अर्को वर्ष अर्को नीति परिवर्तन गर्ने प्रवृत्तिले व्यावसायिक अपेक्षामा प्रतिकूल प्रभाव पार्छ”, प्रा डा ज्ञवालीले भने, “अब नयाँ सरकार आफ्नो कार्यकालसम्म रहने जनताले अपेक्षा गरेका छन् । त्यस्तो सरकारबाट आर्थिक नीतिमा दीर्घकालीन स्थायित्व आउने विश्वास गर्न सकिन्छ ।” नयाँ सरकारले पाँच वर्षसम्म आर्थिक नीतिमा स्पष्टता र स्थायित्वको प्रत्याभूति दिनुपर्ने उनको भनाइ छ ।

पछिल्लो समय मुलुकमा सरकारी लगानीको अनुपात केही सुधार हुँदै गएको भए पनि निजी क्षेत्रको लगानी भने अझै अपेक्षाअनुसार बढ्न नसकेको उनले उल्लेख गरे। प्रा डा ज्ञवालीले जेनजी आन्दोलनका क्रममा उद्योग–व्यवसायीका क्षेत्रमा भएको क्षति र परेको असरले लगानीकर्ताको मनोबल कमजोर भएको अवस्थामा सरकारले त्यसलाई सम्बोधन गर्ने गरी निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नयाँ नीतिगत व्यवस्था गर्नुपर्ने सुझाव दिए ।