कृषि

नेपालमा ८ महिनामा २८ अर्बको धानचामल आयात

८ चैत, काठमाडौं । चालु आर्थिक वर्ष ८ महिनामा नेपालले करिब २८ अर्ब रुपैयाँभन्दा बढीको धानचामल आयात गरेको छ। भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि फागुनसम्म ५ लाख ६७ हजार ९३० टन (५६ करोड ७९ लाख किलो) धानचामल आयात भएको छ।

गत वर्षको सोही अवधिसँग तुलना गर्दा चालु वर्षमा धानचामलको कुल आयात रकम र परिमाण दुवैमा कमी आएको देखिएको छ। गत वर्ष ५ लाख ९१ हजार १८२ टन धानचामल २९ अर्ब ७ करोड ५९ लाख रुपैयाँमा आयात भएको थियो। यस वर्ष कुल आयात करिब ७८ करोड रुपैयाँले घटेको छ।

धान आयात घटे पनि तयारी चामल (बासमती र अन्य) को आयात भने बढेको छ। गत वर्ष बासमती र अन्य चामल १२ अर्ब ३२ करोड रुपैयाँ (१ लाख ५४ हजार टन) मूल्यमा आयात भएकोमा, चालु वर्ष यो बढेर १३ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ (१ लाख ७५ हजार ८४० टन) पुगेको छ। यसमध्ये ५ अर्ब ८४ करोड बासमती र ७ अर्ब ९१ करोड अन्य चामल रहेको छ।

सबैभन्दा ठूलो वृद्धि कनिकाको आयातमा देखिएको छ। गत वर्ष जम्मा ३ करोड २६ लाख रुपैयाँ बराबरको ८१४ टन कनिका आयात भएकोमा, चालु वर्ष यो २८ करोड ५९ लाख रुपैयाँ बराबरको ६ हजार ९६३ टन पुगेको छ।

स्वदेशमै धान रोप्न प्रयोग हुने बिउ आयातमा भने सामान्य वृद्धि भएको छ। गत वर्ष ७ करोड ८९ लाख रुपैयाँको १८० टन बिउ आयात भएकोमा, चालु वर्ष १० करोड ३२ लाख रुपैयाँको २७७ टन बिउ आयात भएको छ।

विश्लेषकहरूले तयारी चामल र कनिकाको उच्च आयातले बजारमा उपभोक्ता माग र आयात नीतिको प्रभाव देखाएको बताएका छन्।