८ चैत, काठमाडौं । गगन कुमार थापाले निर्वाचन पराजयको नैतिक जिम्मेवारी लिँदै दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले अस्वीकार गरेको छ। सानेपास्थित पार्टी कार्यालयमा शुक्रबार र आइतबार बसेको बैठकले उनको राजीनामा नस्वीकार्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो।
उपसभापति विश्वप्रकाश शर्माले सभापतिको राजीनामा अस्वीकार गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए, जसलाई बैठकले अनुमोदन गरेको जानकारी प्रवक्ता देवराज चालिसेले दिएका छन्।
पार्टीका अनुसार निर्वाचनमा पराजयका कारणहरू केवल नेतृत्वसँग सीमित नभई संरचनागत समस्या र बाह्य परिस्थितिसँग जोडिएका छन्। यस्तो अवस्थामा नेतृत्व परिवर्तन गर्दा संगठनभित्र अस्थिरता र कार्यकर्ताको मनोबलमा नकारात्मक असर पर्न सक्ने निष्कर्ष निकालिएको छ।
त्यस्तै, थापाको नेतृत्वमा सुरु गरिएको ‘कांग्रेस २.०’ सुधार अभियानलाई निरन्तरता दिनु आवश्यक रहेको, साथै आगामी १५औँ महाधिवेशनको तयारीका लागि स्थिर नेतृत्व अपरिहार्य ठहर गरिएको छ। राजीनामा नैतिक र स्वेच्छिक विषय भएकाले त्यसको सम्मान गर्दै अस्वीकार गर्नु उपयुक्त भएको बैठकको ठहर छ।
केन्द्रीय कार्यसमितिले सामूहिक जिम्मेवारीको सिद्धान्तलाई जोड दिँदै वर्तमान जटिल राजनीतिक परिस्थितिमा थापाको नेतृत्व अझ आवश्यक रहेको निष्कर्ष पनि निकालेको छ।
बैठकले निम्न आधारहरूलाई ध्यानमा राख्दै राजीनामा अस्वीकार गर्ने निर्णय गरेको छ:
–निर्वाचन पराजयका प्रमुख कारणहरू संरचनागत समस्या तथा नियन्त्रणबाहिरका परिस्थितिहरू रहेको
–वर्तमान जटिल राष्ट्रिय परिस्थितिमा सभापति थापाको नेतृत्व अझ आवश्यक रहेको अनुभूति भएको
–राजीनामा स्वीकार गर्दा पार्टीभित्र अनावश्यक अस्थिरता, अन्योल तथा कार्यकर्ताको मनोबलमा गिरावट आउने सम्भावना रहेकोले
–राजीनामा बाध्यकारी नभई नैतिक र स्वेच्छिक विषय भएकाले यसको सम्मान गर्दै अस्वीकार गर्नु उपयुक्त देखिएकोले
–सामूहिक जिम्मेवारीको सिद्धान्त तथा पार्टी नेतृत्वको स्थायित्वको आवश्यकताको सिद्दान्तमा आधारित रहेकोले
–विशेष महाअधिवेशन पश्च्यात प्रारम्भ गरिएको सुधार कार्यक्रम (कांग्रेस २.०) कार्यान्वयनको निरन्तरता आवश्यक रहेकोले
–पार्टीलाई आगामी १५औँ महाधिवेशनतर्फ केन्द्रित गर्नुपर्ने आवश्यकता भएकोले
–केन्द्रीय कार्यसमितिको पूर्ण बैठकबाट सर्वसम्मत निर्णय भएकोले





