९ चैत, पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पीडितका तर्फबाट आन्दोलनरत कृष्णप्रसाद जैसी धनुष बचत तथा ऋण सहकारी ठगी प्रकरणमा पक्राउ परेका छन्। जैसी यसअघि सूर्यदर्शन सहकारी प्रकरणमा रवि लामिछाने र जीवी राई विरुद्ध जाहेरी दिएका थिए।
गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले जैसीलाई पक्राउ गरेको हो। धनुष सहकारीमा वित्तीय विश्लेषक निर्मल गौतमको प्रतिवेदन अनुसार करिब १२ करोड ५६ लाख रुपैयाँ हिनामिना भएको देखिएको छ। प्रहरीले जैसीसँगै अन्य ४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
साविक साइनो र धनुष सहकारी मर्ज भएर नयाँ व्यवस्थापन समिति बनेको थियो। प्रतिवेदनअनुसार साविक साइनोका अध्यक्ष गमरेजसिंह गुरुङ, उनकी पत्नी काशीमाया गुरुङ, छोरी सिर्जना गुरुङ र असिम बरालको मुख्य योजनामा ३ करोड रुपैयाँ हिनामिना भएको थियो। धनुष तर्फ व्यवस्थापक विराज सुवेदी र जगत पौडेलले क्रमशः २ करोड २५ लाख र १ करोड २५ लाख हिनामिना गरेका थिए।
यसअघि सूर्यदर्शन सहकारी प्रकरणमा जैसीले दिएको जाहेरीको आधारमा रवि लामिछाने पनि पक्राउ परेका थिए। ५१ जनाविरुद्ध दायर मुद्दामा १ अर्ब ५१ करोड रुपैयाँ बिगो माग गरिएको थियो। यसैक्रममा रवि ८४ दिन थुनामा बसेर ६५ लाख धरौटीमा रिहा भएका थिए।
कृष्णप्रसाद जैसी पीडितका तर्फबाट सहकारी आन्दोलनको नेतृत्वकर्ता थिए। उनी चुनावी अभियानकै क्रममा रविले सूर्यदर्शन सहकारीबाट पैसा हिनामिना गरेको भन्दै रास्वपा उम्मेदवार बिना गुरुङलाई विद्यालयको बिल बुझाएका थिए।
यो प्रकरणले पोखरामा सहकारी व्यवस्थापन र वित्तीय पारदर्शितामा रहेको चुनौती पुनः उजागर गरेको छ।





