राजनीति

पहिचानै नभएका सदस्यलाई कारबाही गर्ने प्रचण्डको चेतावनी कत्तिको सम्भव?

९ चैत, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र निर्वाचन परिणामपछि असन्तुष्टि र बहस चुलिएको छ। पार्टी संयोजक प्रचण्डले “घण्टी” चुनाव चिन्हतर्फ मत हाल्ने आफ्नै केन्द्रीय सदस्यहरूलाई कारबाही गर्ने चेतावनी दिएपछि पार्टीपंक्ति मात्रै होइन, राष्ट्रिय राजनीतिमै यसले तरंग पैदा गरेको छ।

गत शुक्रबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रचण्डले कडा अभिव्यक्ति दिँदै प्रमाणसहित नाम ल्याउन आग्रह गरे। “केन्द्रीय सदस्य नै घण्टीतिर गएको रिपोर्ट आएको छ, प्रमाण ल्याउनुस्आँखा चिम्लिएर कारबाही हुन्छ,” उनले चेतावनी दिएका थिए।

अपेक्षाभन्दा कमजोर नतिजा, नेतृत्वमाथि प्रश्न

२५ भन्दा बढी समूहबीच एकता गरेर निर्वाचनमा होमिएको नेकपाले अपेक्षित सफलता हासिल गर्न सकेन। शीर्ष नेताहरूको बाक्लो उपस्थिति-पूर्वप्रधानमन्त्रीहरू प्रचण्ड, माधव कुमार नेपाल र झलनाथ खनाल सहित-भए पनि नतिजा कमजोर आयो।

प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ गरी जम्मा १७ सिटमा सीमित भएपछि पार्टी अब सरकार निर्माणको समीकरणबाट लगभग बाहिरिएको छ।

“कारबाही होइन, समीक्षा आवश्यक”

पार्टीभित्रैका नेताहरू भने प्रचण्डको अभिव्यक्तिलाई “राजनीतिक सन्देश” का रूपमा लिनुपर्ने बताउँछन्। उनीहरूका अनुसार अहिलेको मुख्य आवश्यकता दोषी खोज्नु होइन, समग्र पराजयको गम्भीर समीक्षा गर्नु हो।

एक नेताले भने, “को कसले कहाँ भोट हाल्यो भन्ने खोजी सम्भव पनि छैन। किन हारियो, त्यो बुझ्न जरुरी छ।”

संगठनमै अन्योल: को हो केन्द्रीय सदस्य?

नेकपाभित्र संरचनागत समस्या पनि उजागर भएको छ। पार्टीमा २५ सयसम्म केन्द्रीय सदस्य बनाउने योजना भए पनि उनीहरूको स्पष्ट पहिचान र जिम्मेवारी टुंगिएको छैन।

केन्द्रीय कमिटी, सचिवालय वा कार्य संयोजन समिति-कुन संरचना सक्रिय छ भन्नेमा समेत अन्योल देखिन्छ। निर्वाचनका लागि बुझाइएको १३८ सदस्यीय सूचीलाई समेत नेताहरू “प्राविधिक” मात्र बताउँछन्।

नेतृत्वकै अभिव्यक्तिले अन्योल?

केही नेताहरूले भने पराजयको जिम्मेवारी नेतृत्वतर्फै औंल्याएका छन्। चुनावको मुखमा विभिन्न दलसँग सहकार्यको सम्भावना खुला राख्ने अभिव्यक्तिले कार्यकर्तामा भ्रम पैदा भएको उनीहरूको दाबी छ।

“कांग्रेस, एमाले र घण्टी सबैसँग मिल्न सकिन्छ भन्ने सन्देश गएपछि कार्यकर्ताले के बुझ्ने?” एक नेताले प्रश्न गरे।

वैचारिक बहस: मार्क्सवाद बनाम ‘नयाँ राजनीति’

झापा–१ का उम्मेदवार अशेष घिमिरेले निर्वाचन परिणामलाई वैचारिक पराजयको रूपमा व्याख्या गरेका छन्। उनका अनुसार कम्युनिष्ट दलहरू वर्गीय मुद्दाबाट टाढा जाँदा “उत्तरआधुनिक” राजनीतिक शक्तिहरू हावी भएका छन्।

“व्यक्तिको हिरोकरण र संगठनको कमजोरीले परिणाम प्रभावित भयो,” उनले भने।

अब के?

नेकपाले छिट्टै समीक्षा बैठक बोलाउने तयारी गरेको छ, तर कुन कमिटीमार्फत बैठक बस्ने भन्ने अझै स्पष्ट छैन।

अहिले पार्टीभित्र दुई धार स्पष्ट देखिएका छन्—एक पक्ष कारबाहीमार्फत अनुशासन कायम गर्नुपर्ने पक्षमा छ भने अर्को पक्ष गहिरो आत्मसमीक्षामार्फत पुनर्गठनमा जोड दिइरहेको छ।