१३ चैत, काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गर्दै आफ्नो कार्यकालको पहिलो निर्णयस्वरूप मन्त्रालयका सबै कामकारबाही एकद्वार प्रणालीबाट अघि बढाउने घोषणा गरेका छन्।
राष्ट्रपति कार्यालयमा आयोजित शपथ ग्रहण समारोहपछि सिंहदरबार पुगेर उनले औपचारिक रूपमा पदभार सम्हालेका हुन्। पदभार ग्रहणसँगै उनले प्रशासनिक प्रक्रियालाई सहज, छिटो र पारदर्शी बनाउन एकद्वार प्रणाली लागू गर्ने निर्णय सार्वजनिक गरेका छन्।
पदभार ग्रहण कार्यक्रममा बोल्दै मन्त्री गुरुङले भीआईपी लावालस्करका कारण सर्वसाधारणलाई दुःख दिने कार्य रोक्नुपर्नेमा जोड दिए। “कम बोल्ने मान्छे हुँ, एक्सनमा जान्छु,” उनले भने, “जेनजीको अपेक्षा अनुसार हामी आएका हौं, सुशासनविरुद्ध कुनै पनि काम हुन दिइने छैन।”
उनले सेवा प्रवाह (सर्भिस डेलिभरी) प्रभावकारी बनाउन कर्मचारीहरूलाई जिम्मेवार र जवाफदेही बन्न आग्रह गर्दै नागरिकलाई गुनासो गर्ने अवस्था आउन नदिन निर्देशन दिएका छन्।
गृहमन्त्री गुरुङको प्रारम्भिक निर्णयले प्रशासनमा सुधार, पारदर्शिता र जनमुखी सेवातर्फ सरकारको प्राथमिकता स्पष्ट भएको देखिएको छ।




