राजनीति

मुटुको चाल बढेकाले ओलीको चिकित्सकको निगरानीमा उपचार जारी

१४ चैत, काठमाडौं । काठमाडौंमा पक्राउ परेका नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हाल त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्। शनिबार बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएका उनलाई चिकित्सकको सल्लाहअनुसार भर्ना गरिएको हो।

अस्पतालको ‘एनेक्स वान’ भवनको ५०१ नम्बर बेडमा राखिएका ओलीको मुटु, मिर्गौला र पेटसम्बन्धी परीक्षण भइरहेको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार अस्पताल ल्याउँदा उनको मुटुको चाल केही बढेको थियो र पेट दुखेको गुनासो गरेका थिए।

जाँचका क्रममा पेटमा ढुंगा देखिएको छ, जसका कारण दुखाइ भएको हुनसक्ने अनुमान गरिएको छ। साथै मुटुको अवस्था बुझ्न ‘इको’ परीक्षण गरिएको छ भने मिर्गौलासम्बन्धी परीक्षणहरू पनि जारी छन्।

यसअघि दुई पटक मिर्गौला प्रत्यारोपण गराइसकेका ओली नियमित रूपमा इम्युनोसप्रेसिभ औषधि सेवन गर्दै आएका छन्। मुटुसम्बन्धी उपचारपछि लिइने औषधि, एन्टिबायोटिक र थाइरोइडका औषधिहरू पनि उनी प्रयोग गर्दै आएका छन्। संक्रमणको जोखिम उच्च हुने भएकाले उनलाई विशेष निगरानीसहित अस्पतालको क्याबिनमा राखिएको चिकित्सकहरूले बताएका छन्।

सम्पूर्ण परीक्षण रिपोर्ट आएपछि मात्र डिस्चार्ज गर्ने वा थप उपचार आवश्यक पर्नेबारे निर्णय गरिने जनाइएको छ।

ओलीलाई जेनजी आन्दोलन दमनसम्बन्धी फौजदारी आरोपमा कारबाही सिफारिस भएपछि शनिबार बिहान निवासबाट पक्राउ गरिएको थियो। सार्वजनिक बिदाका कारण उनलाई आइतबार मात्र अदालतमा पेश गर्ने तयारी गरिएको छ।