समाचार

बिपी राजमार्गमा प्रहरीद्वारा सवारी सञ्चालनमा रोक

१५ चैत, काठमाडौं । शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीले बिपी राजमार्गमा अस्थायी सडकसमेत बगाएपछि रोशी क्षेत्रको सडक अवरुद्ध भएको छ ।

उक्त खोलामा पानीको बहाव घटेपछि डाइभर्सन गरिएको सडक अस्थायी रूपमा सञ्चालनमा ल्याउने भनिए पनि निरन्तरको वर्षाका कारण नसकिएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले शनिबार रातिदेखि राजमार्ग नखुलेसम्म सवारी आवागनममा रोक लगाएको छ ।

शुक्रबार साँझको वर्षात्पछि रोशी खोलामा आएको बाढीले रोशी क्षेत्रको चौकीडाँडादेखि नेपालथोकसम्मको करिब चार किलोमिटर ‘डाइभर्सन’ बगाएको थियो ।

जसका कारण शुक्रबार साँझदेखि नै उक्त राजमार्ग ठप्प अवस्थामा रहेको छ । शनिबार सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयको सहयोगमा सडकलाई अस्थायी निर्माण गरी सञ्चालनमा ल्याउने योजना बनाइए पनि शनिबारको पटकपटकको वर्षाका कारण सञ्चालनमा ल्याउन नसकिएको जिल्ला प्रहरी कार्यालय काभे्रपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले बताए ।

अनुसार रोशी खोलाको पानीको बहाव घट्यो भने आइतबार बिहानदेखि उक्त क्षेत्रमा डाइभर्सन निर्माण गरी सवारी सञ्चालनार्थ प्रयास जारी गरिनेछ ।

गत सालको बाढीपहिरोले बगाएको उक्त सडकखण्डमा बनाइएको १८ किमी डाइभर्सनमध्ये विभिन्न स्थानको चार किमी बगाएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।