समाचार

नवनिर्वाचित सांसदहरूले जेठ १० भित्र सम्पत्ति विवरण बुझाउनुपर्ने

१५ चैत, काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आगामी जेठ १० गतेभित्र आफ्नो र परिवारको सम्पत्ति विवरण पेश गर्नुपर्ने भएको छ।

भ्रष्टाचार निवारण ऐन २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ अनुसार सार्वजनिक पद धारण गरेपछि ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनु अनिवार्य छ।

यसै व्यवस्था अनुसार संघीय संसद सचिवालयको सांसद सुविधा शाखाले आर्थिक वर्ष २०८१/०८२ को अद्यावधिक सम्पत्ति विवरण बुझाउन नवनिर्वाचित सांसदहरूलाई सूचना जारी गरेको छ।

सूचनामा उल्लेख छ कि प्रतिनिधि सभाका सदस्यहरूले आफ्नो सम्पत्ति विवरण सिलबन्दी खाममा, तोकिएको विवरणसहित, भवन नं. १ को कोठा नं. २०७ मा कार्यालय समयभित्र दर्ता गर्नुपर्नेछ।

गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित सांसदहरूले चैत १२ गते शपथ लिएका थिए। अब उनीहरूले जेठ १० गतेसम्म सम्पत्ति विवरण पेश गरेर कानुनी व्यवस्था पूरा गर्नुपर्ने छ।