समाचार

कांग्रेस नेता दीपक खड्का ७ दिन हिरासतमा, जलेको रकम प्रकरणमा अनुसन्धान तीव्र

१५ चैत, काठमाडौं । कांग्रेस नेता दीपक खड्का लाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। आइतबार बिहान पक्राउ परेका खड्कालाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत मा उपस्थित गराइएको थियो।

पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री समेत रहेका खड्कालाई भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा उनको घरबाट बरामद भएको रकमबारे अनुसन्धान गर्न नियन्त्रणमा लिइएको गृहमन्त्रीले बताएका छन्।

उनको घरमा आगजनीपछि जलेको अवस्थामा भेटिएको नेपाली तथा विदेशी मुद्रा सम्बन्धी विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान अघि बढाएको छ। विभागले घटनास्थलबाट जलेका नोटका टुक्रा र खरानीसमेत संकलन गरिसकेको जनाएको छ।

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले खड्काको घरमा तोडफोड र आगजनी गरेका थिए। आगलागीपछि जलेका नोटका भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए भने केही प्रदर्शनकारीले सग्ला नोट बोकेको दृश्यहरू पनि बाहिरिएका थिए।

घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ।